डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

एसपीपी सम्झौताप्रति एमालेको गम्भीर असहमति छ : महासचिव पोखरेल

बुटवल । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले अमेरिकासँग सरकारले गर्ने भनेको एसपीपी सम्झौताप्रति गम्भीर आपत्ति जनाउनुभएको छ ।  

अमेरिकाले नेपाल सरकारसँग प्रस्ताव गरेको स्टेट पार्टनर सीप प्रोग्राम एसपीपी मुलुकलाई सैन्य गठबन्धनमा लैजाने प्रपञ्च रहेको भन्दै यसलाई एमालेले कुनै हालतमा स्वीकार नगर्ने बताउनुभयो । ‘यसप्रति एमालेको गम्भीर असहमति छ, अमेरिका भ्रमण र एजेन्डाबारे सरकारले यथोचित जवाफ दिनुपर्छ,’ उहाँले भन्नुभयो ।

प्रेस चौतारी नेपाल रुपन्देहीले बुधवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले उक्त सम्झौता अमेरिकासँग गरिए त्यो मुलुकको पन्चशीलको सिद्धान्त विपरीत हुने दाबी गर्नुभयो । ‘यसले नेपालको असंलग्न परराष्ट्र नीतिलाई नै असर गर्छ, पन्चशीलको सिद्धान्तविपरित हुने यस्तो सम्झौता स्विकार्न सकिँदैन,’पोखरेलले भन्नुभयो।

प्रधानमन्त्री शेरबहादुर देउवा रक्षा मन्त्रीको हैसियतमा अमेरिका जान लागेको सूचना आएको भन्दै महासचिव पोखरेलले त्यसो गरिए देशकै इज्जत र प्रतिष्ठामा दाग लाग्ने पनि बताउनुभयो । ‘यदि त्यसरी भ्रमणमा जान लागेको हो भने मुलुकको अपमान हुनेछ,’उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले स्थानीय चुनावको परिणामले सङ्घीय चुनावलाई असर नगर्ने बताउनुभयो । स्थानीय चुनावमा लोकप्रिय मतका आधारमा एमाले नै पहिलो भएको भन्दै पोखरेलले काँग्रेसले एक्लै लड्दाको हिसाब गर्दा २० प्रतिशत मात्रै जनमत रहेको र एमालेले ३४ प्रतिशत मत प्राप्त गरेको उहाँको भनाइ छ ।  

‘गठबन्धनलाई आधार मान्ने हो भने गठबन्धन पहिलो र एमाले दोस्रो भन्न सकिन्छ, तर काँग्रेस पहिलो र एमाले दोस्रो भन्न सकिँदैन,’ महासचिव पोखरेलले भन्नुभयो।

उहाँले यो सरकार निर्माण भएपछि मुलुक चरम आर्थिक सङ्कटमा फस्दै गएको बताउनुभयो । अघिल्लो सरकारका पालामा भएको तीन प्रतिशत मूल्यवृद्धि अहिले सात प्रतिशत पुगेको पनि उहाँको दाबी छ । उहाँले अर्थमन्त्रीले बजेट निर्माणमा व्यापारीलाई घुसार अपराधपूर्ण काम गरेको भन्दै यसको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन सुझाव दिनुभयो ।

लुम्बिनीका संस्थापक समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश सरकारले जम्बो मन्त्री मण्डल बनाएर आफूहरूलाई असफलतातर्फ जाने पहिले नै सङ्केत गरेको बताउनुभयो । सुरुदेखि नै सरकारको असफलताको बाटो मन्त्री परिषद् गठनले सङ्केत गरेको उल्लेख गर्दै उहाँले लुम्बिनी प्रदेशलाई कमजोर बनाउने काम भएको उल्लेख गर्नुभयो। विगतको सरकारले शतप्रतिशत पुँजीगत खर्च गरेर सफलताको उदाहरण पेस गर्दै आएकोमा वर्तमान सरकारले उक्त छविलाई बिगार्ने काम गरेको उहाँको आरोप छ ।

 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ५ : ०४ बजे