एसपीपी अघि नबढाउन प्रधानमन्त्रीलाई राष्ट्रपतिको सन्देश

काठमाडौं – अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अघि नबढाउन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाउनुभएको छ ।

एसपीपीको मस्यौदा सार्वजनिक भएसँगै त्यसको विरोध भइरहेको छ। राजनीतिक दल तथा सरोकारवाला पक्षले विरोध जनाएपछि नेपाली सेनाका परमाधिपति समेत रहनुभएको राष्ट्रपति भण्डारीले यसलाई अघि नबढाउन सन्देश पठाउनुभएको हो ।

राष्ट्रपतिज्यूले उक्त सम्झौता अघि नबढाउन सन्देश पठाउनुभएको छ, स्रोतले भन्यो, सेनासँग जोडिएको विषय भएकाले उहाँले चासो देखाउनुभएको हो।

प्रधानमन्त्री देउवा असारको अन्तिम साता अमेरिका भ्रमणमा जाँदैहुनुहुन्छ । त्यहीबेला उक्त सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको बुझिएको छ। उक्त सम्झौतामा हस्ताक्षर गर्न अमेरिकाले समेत दबाब दिइरहेको छ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १२ : ३३ बजे