महिला कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

बुटवल । परपुरुषकी श्रीमती र नाबालिकालाई कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहनुभएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री विमला कुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले संरक्षण दिनुभएको छ ।

प्रहरीबाट छुटाएर मुख्यमन्त्री केसीले अभियुक्त वलीलाई आफ्नै निवासमा राख्नुभएको छ । मुद्दाको किनारा नलाग्दै अभियुक्त वलीलाई संरक्षण दिएपछि मुख्यमन्त्रीको आलोचना हुन थालेको छ । 

प्रहरी हिरासतमा रहनुभएको राज्यमन्त्री वलीलाई गए राति दाङबाट बुटवल ल्याइएको थियो । प्रहरी स्रोतका अनुसार उहाँलाई प्रहरी सुरक्षाका साथ रातारात बुटवलस्थित मुख्यमन्त्री केसीको निवासमा ल्याइएको हो ।

अहिले विमला वली मुख्यमन्त्री निवासमै हुनुहुन्छ । आफू अस्वस्थ भएको बताएकाले उहाँको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

कुटपिटमा परेकी पीडित मिना भण्डारी बस्नेतले मन्त्री वलीविरुद्ध मङ्गलवार दाङमै किटानी जाहेरी दिनुभएको थियो । किटानी जाहेरी परेपछि मुख्यमन्त्री केसीले दाङका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई बारम्बार फोन गरी हिरासतबाट छुटाएर बुटवल ल्याउन दबाब दिनुभएको थियो । मुख्यमन्त्रीको दबाबपछि राज्यमन्त्री वलीलाई प्रहरी हिरासतबाट छुटाएर बुटवल ल्याई मुख्यमन्त्री निवासमा राखिएको हो ।

मङ्गलवार बिहान करिब ८ बजे अङ्गरक्षकसहित झण्डावाला गाडी लिएर दाङ तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा प्रवेश गरी बस्नेतकी पत्नी मिना र नाबालिक छोरीलाई कुटपिट गरेपछि प्रहरीले राज्य मन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो ।

राज्य मन्त्री वलीले आफ्नो फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको तथा पैसा समेत नदिएकोले आवेगमा आएर बस्नेतको घर पुगेको प्रहरीसमक्ष बताएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनुभयो ।

पीडित मिनाले वलीविरुद्ध उजुरी दिए पनि दर्ता भएको छैन । हदम्याद भित्र प्रहरीले उजुरी दर्ता गर्ने प्रहरी स्रोतले बताएको छ । बाहालवाला मन्त्रीलाई पक्राउ गर्न र थुन्न पाउने कानुन नभएकाले दर्ता नभएको प्रहरीको दाबी छ । “व्यवस्थापिका संसद् चलिरहँदा सभामुखको पत्र वा आदेशबिना हामीले केही गर्न सक्ने अवस्था रहँदैन”–एक प्रहरी अधिकारीले भन्नुभयो । प्रशासन र सभामुखबाट पत्राचार वा समन्वयमा मात्रै उजुरी दर्ता लगायतका प्रक्रिया अगाडि बढ्ने प्रहरीले बताएको छ । 

प्रमुख प्रतिपक्षी दल एमालेले वलीलाई मन्त्री र सांसद पदबाट बर्खास्त गर्न र कानुनी कारबाही गर्न माग गरेको छ । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले आपराधिक कार्य गरेकाले वली नैतिक रूपमा पदमा बस्न नमिल्ने भन्दै बर्खास्त गर्नुपर्ने माग गर्नुभएको छ  ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १० : १६ बजे