निर्वाचन आयोगले आजबाट पुनः मतदाता नामावली संंकलन तथा अद्यावधिक कार्य सुरु गर्ने 

काठमाडौँ । निर्वाचन आयोगले आजबाट पुनः मतदाता नामावली संंकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ ।  

आजबाट सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट पुनः मतदाता नामावली संंकलन तथा अद्यावधिक कार्य सुरु हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । 

पेसा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेका नागरिकले स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने उहाँले बताउनुभयो । 

मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मिति, लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकारी)ले आवश्यक निर्णय गरी त्रुटि सच्याउने समेत उहाँले जानकारी दिनुभयो।  

प्रवक्ता पौडेलेका अनुसार कुनै मतदाताले विवाह वा बसाई सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साबिकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछ ।

कुनै मतदाताले आफ्नो नाम रहेको मतदान स्थलबाट पायक पर्ने सोही वडाको अर्को मतदान स्थलमा नाम सार्न निवेदन दिएमा सोही बमोजिम स्थानान्तरण गरिदिने पनि उहाँले जानकारी दिनुभयो । 

 

 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ७ : १९ बजे