‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आज क्रान्तिकारी चे ग्वेभाराको स्मृति दिवस : सुन्दर संसारको सपना देख्ने क्रान्तिकारी यायावर चे

अर्नेष्टो चे ग्वेभारा लिञ्च । यो लामो नाम नै आफैमा एउटा नमुनाको उदाहरण जस्तो छ । यो विश्वव्यापी त छँदै छ, यसले एउटा मानवीय पहिचान दिन्छ । अर्नेष्टो मूल नाम हो, यो उनका हजुरबाको सम्मानमा राखिएको नाम हो । डन अर्नेष्टो चेका पिताको नाम । चेका पिताले क्यूबाली क्रान्तिका कालखण्डमा राखिदिएको नाम हो ‘चे’ जसको अर्थ हुन्छ — प्रिय । 

हुन त क्यूबाली जनताले हरेक प्रिय वस्तु महसुस गर्नका लागि यो ‘चे’ शब्दको प्रयोग गर्ने गर्दछन्, ग्वेभारा शब्द चेलाई उनका पिताको तर्फबाट मिल्यो । अनि, यस परिवारमा आमाको उपनामलाई पनि आफ्नो नामसँग जोडिने गर्दछ । चेका मावलाका हजुरबा लिञ्च समुदायका थिए । यसरी बनेको थियो पूरा नाम – अर्नेष्टो चे ग्वेभारा लिञ्च । उनको जन्म आजकै दिन अर्थात् १४ जून १९२८ मा भएको थियो । उनका योगदानहरू अनेक र महत्त्वपूर्ण छन् । तीमध्ये केही कुरा मात्र यहाँ उल्लेख गरिएका छन् । 

अर्जेण्टिनी मूलका यी क्यूबाली क्रान्तिकारीको नाम मुखमा आउनासाथ जुन छवि मनमा बन्दछ, त्यो एउटा रिसाहा युवाको छवि लाग्दछ । यद्यपि, चेको पूरा जीवन एउटा रोमाञ्चकारी कविता जस्तै रहेको छ । जसमा जीवनलाई महसुस गर्न सकिने सुनसान प्रकृतिको रहेको छ भने दुखान्त त्रासदीहरूको अन्तहीन सिलसिला जस्तो पनि । अनि सङ्घर्षका बीचमा आफन्तहरूसँगका शान्तिका पलहरू पनि यसमा सामेल छन् । चेको यस विविधतापूर्ण जीवनलाई अनेक किसिमले चित्रित गर्ने गरिएको पाइन्छ र गर्न  सकिन्छ पनि । तर यस सन्दर्भमा सबैभन्दा मजाको कुरा होला— चेका विरोधीहरूको उनी प्रतिको राय । कुनै व्यक्तित्वलाई जान्न र बुझ्न एउटा राम्रो माध्यमा उसका विपक्षीहरूको उस प्रतिको राय पनि हो । चेका बारेमा यस प्रकारको रायहरू निकै अनौठो पनि छन् ।    

क्युबाको सफल क्रान्तिपछि चे ग्वेभारा क्यूबाली राष्ट्रिय बैङ्कको अध्यक्ष बनेका थिए । त्यस अवसरमा जुलाई १९६० मा अमेरिकी ‘न्युज एन्ड वर्ल्ड रिपोर्ट’ मा भनिएको थियो – ‘अर्नेष्टो चे ग्वेभारा नै क्याष्ट्रो सरकारका मस्तिष्क हुन् । ग्वेभारा क्यूबाली होइनन्, अर्जेण्टिनी हुन् । उनी स्वभावले कुनै भावुक ल्याटिन अमेरिकी पनि होइनन् । तर ठन्डा मस्तिष्कले सोच विचार गर्ने कम्युनिष्ट हुन् । यी ग्वेभारा फिडेल या राउल क्याष्ट्रो होइनन् । ग्वेभारा  र उनका कम्युनिष्ट सहायकहरूका लागि क्युबा मिसनको एक घटना मात्र हुन् र त्यो मिसन हो– ल्याटिन अमेरिकाका अधिकांश हिस्सामा कम्युनिष्ट सत्ता स्थापना गर्नका लागि क्युबालाई एउटा किल्लाको रूपमा विकसित र खडा गर्नु ।’ 

साम्राज्यवादका जुन प्रवक्ताले यी पङ्क्तिहरू लेखे उनलाई फेलिक्स ग्रिनले आफ्नो एउटा किताबमा ‘दुस्मन’ भनेका छन् । यसको दोस्रो पक्ष के छ भने चेका घनघोर विचार धारात्मक शत्रुहरू पनि  उनीसँग प्रभावित थिए । चेमा आफ्ना विरोधीहरूलाई आफ्नो प्रशंसाका लागि बाध्य तुल्याउने गुण थियो । चेको जीवन यसै कुराको उदाहरण हो कि एउटा व्यक्ति जो सारा विश्वकै शोषित पीडित जनताको मुक्तिको क्रान्तिकारी सङ्घर्षमा होमिएको र  जुधिरहेको छ, कसरी जनताका शत्रुहरूबाट पनि मान्यता र आदर हासिल गर्न सक्तछ । यो आदर सम्मान सधैँका लागि कायम रहन्छ र यस कारण चेको स्मृति क्रान्तिकारी मनहरूमा चिरस्थायी जस्तै बन्छ । 

यहाँ के उल्लेख गरिनु आवश्यक लाग्दछ भने ८ अक्टोबर १९६७ मा छापामार र बोलिभियाको सैनिक टुकडीका बीच घमासान लडाइँ चल्यो । चे गम्भीर रूपमा घाइते भए । उनलाई बन्दी बनाइयो । सैनिक कमान्डर पराडो सालमनले चेलाई तुरुन्तै चिनिहाल्यो । उसले सन्देश पठायो ‘५०० केसाण्डो’ यो कोडको अर्थ थियो ‘चेलाई पक्राउ गरियो ।’  उनलाई कडा सुरक्षा र निगरानीका साथ हीग्वेरा पठाइयो । बिहान हुने बित्तिकै बोलेभियाका ठुला सैनिक हस्तीहरू र अमेरिकी गुप्तचर संस्था सीआईएका एजेन्टहरू हिग्वेरा पुगिसकेका थिए ।
ती मध्येका एक जना एजेन्ट डा. गोञ्जालेजे चेसँग सोधे, ‘तिमी के सोचिरहेका छौ ?’ चेले मजाले उत्तर दिए, ‘म क्रान्तिको अमरत्वका बारेमा सोचिरहेको छु ।’ 

वास्तवमा यी चेका अन्तिम शब्दहरू थिए । चेका यी अन्तिम शब्दका साथ क्युबा विश्वका हरेक क्रान्तिकारीका लागि आज एउटा उदाहरण बनेर रहेको छ । क्युबामा क्रान्तिको जुन बाटो तय गरियो त्यो विश्वका अरू मुलुकहरूका लागि सही छ कि गलत ? भौगोलिक रूपले ठुला देशहरूका क्रान्तिका अवधारणा क्युबा जस्ता साना देशबाट उदाहरण बन्न सक्तैनन् ? अनि क्युबाको क्रान्ति जुन परिस्थितिमा घटित भयो त्यसलाई सारा संसारले आधा शताब्दी पछाडि छोडेर आएको हो ?

यी र यस्ता अनेकौँ प्रश्नहरू आफ्नो ठाउँमा सही हुन सक्छन् र सत्यको प्रभावकारी पक्ष हुन सक्छन् कि हिंसारहित क्रान्तिहरू पनि कुनै बेला आफैमा एउटा अनौठो उदाहरण बन्न पनि सक्लान् ? 

तर आज जुन व्यक्तित्वका बारेमा हामी कुरा गरिरहेका छौँ, उनी यस्ता प्रश्नहरूसँग सारा जीवनभर जुधिरहे र लगातार त्यसको जबाफ पनि दिँदै रहे । उनले हिंसाको बाटो अख्तियार गरेका थिए । तर, त्यसको चयन अनायास गरेका थिएनन् । अर्नेष्टो चे ग्वेभारा लिञ्चको जीवनको आरम्भिक हिस्सा यसको साक्षी रहेको छ ।

यस्ता व्यक्तिको मनमा आफ्ना जनताप्रति जीवन्तताको महसुस र तिनको मुक्तिको निम्ति सफलताको कामना  रहनु, हुनु कुनै अनौठो कुरा भएन । चेको मनमा यही आकाङ्क्षा उनको युवा अवस्थादेखि नै थियो नै । यद्यपि, चेले आफू स्वयंले आफ्नी पूर्व प्रेमिकालाई लेखेको एउटा पत्रमा स्वीकारेका छन् कि सुरु सुरुमा उनी केवल एउटा जोखिम उठाउन तत्पर हुने व्यक्तिवादी युवा थिए । फिडेल क्याष्ट्रोले चेलाई बदलिदिए । उनलाई महान् उद्देश्य दिए । जुन उद्देश्यले अर्नेष्टो चेलाई परिवर्तन गरिदियो । चेको सम्पूर्ण जीवन रहस्यमय जस्तो लाग्दछ र उनका बारेमा कैयौँ किसिमका हल्लाहरू, खास गरी अमेरिकी पुँजीवादी पिछलग्गुहरूको तर्फबाट लगातार फैलिँदै फैलाइँदै रहे ।

चेका बारेमा यो झूटो कुरा लगातार गरिँदै रह्यो कि उनी भावुक छैनन् । चेले यो कुरा कयौँ पटक भनेर होइन, गरेर झूटो साबित पनि गरिदिए । उनी आफ्ना मित्रहरू, परिचितहरू, परिवार र खास गरी बालबच्चाहरूप्रति गहिरो समवेदना राख्ने गर्दथे । १९६० मा चेले जससँग आफूले पुरै ल्याटिन अमेरिकाको मोटरसाइकल यात्रा गरेका थिए अर्जेण्टिनी मित्र अल्बर्टोसँग भनेका थिए, ‘म यहाँ आरामसँग बसेको छु । मेरा मित्रहरू बोलिभिया समेत अन्य स्थानहरूमा मेरा गुरिल्ला प्रयोगलाई गलत तरीकाले लागू गर्दै मरिरहेका छन् ।’ यसबाट स्पष्ट हुन्छ कि चे गुरिल्ला युद्धको योजनालाई न्यूनतम हिंसाका रूपमा देख्ने गर्दथे ।

साम्राज्यवादका विरुद्ध सारा संसारमा चलिरहेका आन्दोलनहरूको एकजुटताका लागि सघन यात्रा गरिसकेपछि चे १४ मार्च १९६५ का दिन क्युबाको राजधानी हवाना फर्किए । त्यसपछि सार्वजनिक रूपमा कतै देखा परेनन् । झन्डै एक महिनापछि फिडेल क्याष्ट्रोले यस बारेमा केवल यत्ति कुरा भने कि उनी सधैँ त्यही ठाउँमा रहन्छन्, जहाँ क्रान्तिका लागि उनको सबैभन्दा बढी  आवश्यकता पर्दछ र लाभदायक हुन्छ । यसबाट कुन तथ्य स्पष्टसँग उजागर हुन्छ भने चे क्युबामा रहेका छैनन् । तर कहाँ छन् त ? यस प्रश्नको उत्तर पुँजीवादी समाचार पत्रहरूले बेग्ला बेग्लै किसिमले दिइरहेका थिए ।

चेले क्युबा यस कारण छोडे किन कि उनी हतियार बन्द बनेर साम्राज्यवादहरूका विरुद्ध सङ्घर्ष गर्न चाहन्थे । यसलाई उनी आफ्नो सर्वोच्च कर्तव्य मान्दथे । 

१९५७ मा चे एक अपरिचित अर्जेण्टिनी डक्टर थिए, जो परिस्थितिवश मेक्सिकोमा पुगेका थिए । फिडेल क्याष्ट्रोको नेतृत्वमा सक्रिय क्रान्तिकारीहरूसँग उनको भेट भएको थियो । १९६५ चे विजयी क्युबाका एक जना प्रमुख नेता र क्रान्तिकारी सरकारका एक महत्त्वपूर्ण हस्ती बनेका थिए । त्यहाँबाट अब नयाँ क्रान्तिकारी क्रियाकलापको खोजीमा उनी क्युबा छोडेर अचानक बाहिर गए । अझ राम्रो र सुन्दर संसारको सपना देख्ने गरेका यी यायावर नोभेम्बर १९६६ को पहिलो सातामा छद्म नामबाट बोलिभिया पुगे र त्यहाँ एउटा स्थानमा छापामार आन्दोलनको अखाडा स्थापित गरे ।

चे आज यो संसारमा हुन्थे भने सम्भवतः अहिले पनि यही कुरालाई निरन्तरता दिइरहेका हुन्थे । अपेक्षा के गरिनु पर्दछ भने सर्वहारा वर्गका जनताका पक्षमा खडा भएका प्रगतिशील, जनवादी समुदायलाई यो कुरा सम्झना हुनु पर्दछ कि उसले सच्चा सर्वहारा अन्तर्राष्ट्रियतावादतर्फ आफ्नो कदम अझ दृढताका साथ बढाउने छ । यही नै चेका लागि साँचो अर्थमा क्रान्तिकारी अभिवादन र श्रद्धाञ्जली पनि हुन सक्दछ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १० : ३९ बजे