डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

विनियोजन विधेयकअन्तर्गत शीर्षकमा आजदेखि मन्त्रीले जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकअन्तर्गत शीर्षकमा आजदेखि मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । 

प्रतिनिधिसभाको आज बिहान ११ः०० बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमा  छलफलका क्रममा उठेका प्रश्नका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ  । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरूले बोल्ने क्रम सकिएको थियो ।

आइतबारको बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि आजको बैठकमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम सुरु हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराउनुभएको थियो । 

आइतबारको बैठकमा नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले न्यायपूर्ण बजेट वितरण हुन नसकेको बताउँदै युटिलिटी करिडोर बनाउँदा खानेपानीको पाइपलाइन, ढल, बिजुलीको तार, सञ्चारजस्ता क्षेत्रमा समन्वय र सह प्रयोगका लागि कानुनी प्रबन्ध गर्न सकेमा लगानी कम हुन जाने जनाउनुभएको थियो ।

नेपाली काँग्रेसका सांसद पुष्पा भुसालले गैरसरकारी क्षेत्रमा पनि सुत्केरी सुविधा र बच्चाको स्वास्थ्य हेरचाहका लागि ध्यान दिन आग्रह गर्दै सरकारी अस्पतालमा एउटै शय्यामा धेरै बिरामी राखेर उपचार गराइने स्थिति अन्त्य गर्न आग्रह गर्नुभएको थियो । उहाँले दलित, गन्धर्व र वादीजस्ता समुदायका लागि विशेष ध्यान दिन पनि आग्रह गर्नुभएको थियो । 

एमालेका विशाल भट्टराईले सरकारी कर्मचारीको तलब वृद्धि भए पनि ग्रामीण क्षेत्रमा खटिने स्वास्थ्य स्वयंसेविकाहरूको सुविधा बढाउन ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले खोटाङको दिक्तेल बजारको सडकको ढलानलाई पूर्णता दिन बजेट व्यवस्था गर्न आफूले सम्बन्धित मन्त्रीलाई लिखित आग्रह गर्दा पनि पूर्वाग्रहपूर्वक बजेट नराखिएको टिप्पणी गर्नुभएको थियो  ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ७ : २५ बजे