असार ५ मा नगरसभा अधिवेशन गर्ने काठमाडौं महानगरको निर्णय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको नगर सभाको ११औँ अधिवेशन असार ५ गते गर्ने भएको छ ।

आज प्रमुख बालेन्द्र शाह (बालेन को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अधिवेशनको मिति तोकेको हो।

बैठकमा प्रमुख शाहले नगरसभाको बैठक आह्वान, राजस्व परामर्श समिति गठन, कार्यपालिकाअन्तर्गतका विषयगत समिति गठन र विविध गरी चार वटा प्रस्ताव पेश गर्नु भएको थियो ।

यी प्रस्तावहरुमा छलफल गर्दै बैठकले उपप्रमुख सुनिता डंगोलको अध्यक्षता स्थानीय राजस्व परामर्श समिति गठन गरिएको छ।

समितिको सदस्यहरुमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, वडा १४ का अध्यक्ष सुमन श्रेष्ठ, कार्यपालिका सदस्य मीना सिंह चयन भएका छन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६५ मा स्थानीय तहका उपप्रमुखको अध्यक्षतामा स्थानीय राजस्व परामर्श समिति गठन हुने व्यवस्था छ । समितिको सदस्य सचिवमा राजस्व विभागका प्रमुख रहने छन्।

बैठकमा प्रमुख शाहले पेश गरेको कार्यपालिकाअन्तर्गतका विषयगत समितिका संयोजकहरुको नाम अनुमोदन भएको छ।

जसअनुसार सुशासन समितिमा वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, वित्त समितिमा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, सामाजिक समितिमा वडा १० का अध्यक्ष रामकुमार के.सी., पूर्वाधार समितिमा वडा १६ का अध्यक्ष मुकुन्द रिजाल रहनुभएको छ ।

वातावरण समितिमा वडा १२ का अध्यक्ष बालकृष्ण महर्जन, भवन व्यवस्था समितिमा वडा ११ का अध्यक्ष हीरालाल तण्डुकार, सम्पदा तथा पर्यटन समितिमा वडा ८ का अध्यक्ष आशामान संगत, सूचना प्रविधि समितिमा वडा १७ का अध्यक्ष नविन मानन्धर छन् ।

यस्तै शिक्षा र स्वास्थ्य समितिमा वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, विधायन समितिमा वडा २३ का अध्यक्ष मचाराजा महर्जन, राजस्व समितिमा वडा ३२ का नवराज पराजुली र विपद् व्यवस्थापन समितिमा वडा ३ का अध्यक्ष प्रेम थापा संयोजक रहेका छन् ।

फोहोरमैला व्यवस्थापन गर्ने, व्रुमरको नियमित उपयोग, खानेपानी तथा ढल निकासका लागि फरक(फरक कार्यालयले काम गर्दाको असजिलो, वडा र महानगरको भूमिका, बिजुलीका तार व्यवस्थापन गर्दा खनिएका खाडलको व्यवस्थापन, सामाजिक तथा सांस्कृतिक विषयहरू पनि बैठकमा छलफल भएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ६ : ३१ बजे