आज वर्षाको सम्भावना

‘देउवा सातौँ पटक प्रधानमन्त्री बने देशै नरहने खतरा’

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको स्वतन्त्रता र स्वाधीनतालाई समाप्त पार्न लागेको भन्दै संसद्मा प्रश्न उठाउनुभएको छ ।  

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्नुहुँदै रावलले वर्तमान सरकारले असंलग्न परराष्ट्र नीतिलाई भताभुङ्ग पारेको बताउनुभयो । 

रावलले विभिन्न घटनाक्रमहरूको दृष्टान्त दिनुहुँदै नेपालको संविधान विपरीत अमेरिकी सैन्य गठबन्धनमा नेपाललाई सामेल गराउन वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा उद्यत भएको बताउनुभयो । 

 देउवा पाँच पटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन र राष्ट्रघात मात्र भएको भन्दै सातौँ पटक प्रधानमन्त्री बन्ने हो भने देशै नरहने खतरा रहेको रावलको टिप्पणी थियो । रावल बोल्दा बोल्दै संसद् बैठकमा भित्रिनुभएका प्रधानमन्त्री देउवाले उहाँको कुरा सुनेर हाँस्दै टाउको हल्लाउनुभएको थियो । 

रावलले भन्नुभयो, ‘उहाँ २०५२ सालमा प्रधानमन्त्री हुँदा देश हिंसात्मक द्वन्द्वमा गयो । राष्ट्रिय हितविपरीत महाकाली सन्धि भयो । अर्को पटक प्रधानमन्त्री बन्दा देश प्रतिगमनमा गयो । पाँच पटक प्रधानमन्त्री हुँदा त यस्तो भयो भने सातपटक प्रधानमन्त्री हुन्छु भन्दै हुनुहुन्छ, त्यसो भयो भने त नेपाल नै के हुन्छ भन्न आशंसा गर्नुपर्ने भयो ।’

रावलले प्रधानमन्त्री देउवाले चिनियाँ आयोजनाले बनाएको बिजुली नकिन्ने भन्नु, चिनियाँबाट खोसेर पश्चिमसेती आयोजना भारतलाई दिनु,अमेरिकासँग सामरिक सम्बन्ध स्थापना गर्न खोज्नु, तिब्बत मामिलासम्बन्धी अमेरिकी विदेश उपपमन्त्रीलाई शरणार्थी क्याम्पमा लैजानु जस्ता घटनाक्रमले नेपालको असंलग्न परराष्ट्र नीतिमाथि गम्भीर प्रहार भइरहेको बताउनुभयो । 

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ३ : १७ बजे