माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

मर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीको विद्युत् उत्पादन आज बन्द हुने

काठमाडौँ । आज तीन वटा जलविद्युत आयोजनाको विद्युत् उत्पादन ठप्प हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार लमजुङमा सञ्चालित ७० मेगावाटको मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ३० मेगावाटको न्यादी जलविद्युत गृहबाट आइतबार विद्युत् उत्पादन नहुने भएको हो । ती विद्युत् गृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन बन्द हुनेछ । 

गत वर्ष १९ असारमा आएको पहिरोले ढालेको मर्स्याङ्दी-मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द (सट डाउन) गरिएको हो । 

प्रसारण लाइन सट डाउन भएपछि उक्त लाइनमा जोडिएका विद्युत् गृहबाट विद्युत् उत्पादन बन्द हुने छ ।

पहिरोले मर्स्याङ्दी-मर्स्याङ्दी प्रसारण लाइन अन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपत्कालीन पुनर्स्थापना प्रणाली (इआरएस) जडान गरी गत वर्षको २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो । 

अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ । आइतबार इआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ । यसका लागि उक्त प्रसारण लाइन सट डाउन गरिने छ । यसबाट यस प्रसारण लाइनमा जोडिएका जलविद्युत गृहबाट उत्पादित विद्युत् पनि बन्द हुने छ । करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत् आपूर्ति गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ९ : ०६ बजे