करिब २५ सय वर्षअघि प्राचीन ग्रिसका हिप्पोक्रेट्स र उनका अनुयायीहरूले पश्चिमी चिकित्सा क्षेत्रको विकास गरेको मानिन्छ । हिप्पोक्रेटस् (इसापूर्व ४६) देखि ३७७) ले चिकित्सकहरूले लिने प्रतिज्ञा ‘हिप्पोव्रmेट्स ओथ’ को सुरूआत गरे । पूर्वीय दृष्टिकोणमा चिकित्सा विषयको विकासको इतिहास निकै पुरानो छ । ईसा पूर्व ६ सय तिरका शल्यक्रियाका जनक मानिने महर्षि सुश्रुतले चिकित्सा शास्त्रबारे संस्कृतमा ‘सुश्रुत संहिता’ तयार गरे । शल्यक्रिया, प्लाष्टिक सर्जरी, एनेस्थेसिया, शल्यक्रियाका लागि आवश्यक उपकरणहरू आदिबारे उनले लेखेका थिए । ईसा पूर्व ३ सय वर्ष तिरका महर्षि चरक आयुर्वेदका जनक मानिन्छन् । ‘चरक संहिता’ आयुर्वेदको एउटा महत्त्वपूर्ण ग्रन्थ हो, जसमा उनले स्वास्थ्यका निम्ति आयुर्वेदको महत्त्वबारे व्याख्या गरेका छन् ।
चिकित्सकहरू सहितको अस्पताल आठौँ शताब्दीदेखि सिरियाबाट सुरु भएको मानिन्छ । बिमारीस्तान नामले चिनिने त्यस्ता स्वास्थ्य केन्द्रहरू कायरोको दमास्कस, बगदाद आदि सहरहरूमा ईसाको नवौँ शताब्दीमा स्थापना गरिए । पश्चिमी देशहरूमा ईसाको बाह्रौँ शताब्दी यता भएको स्वास्थ्य क्षेत्रको विकासको जगको रूपमा यसलाई हेरिन्छ । सन् १००० मा अरबका आबु अल जारवीले ‘चिकित्सा शास्त्रको प्रयोग विधि’ बारे लेखेको पुस्तकले आधुनिक चिकित्सा विधिको जग बसालेको मानिन्छ । (नेशनल जिओग्राफिक, २०११)
सन् १५४३ मा इटालीका आन्द्रे भेसालियसले विस्तृत अध्ययनपश्चात् मानवीय आन्तरिक विन्यास बारेको पुस्तक निकाले । केही वर्षपछि अर्थात् सन् १५९० यता भएको सूक्ष्म दर्शक यन्त्रको विकासले रोगका कारक जीवाणुहरूको अध्ययनलाई सहज पार्यो । बेलायतका विलियम हाब्रे (१५७८–१६५७) ले रक्तसञ्चार प्रणाली र समग्र शरीर विज्ञानबारे धेरै कुरा पत्ता लगाए । रक्त कोश (सन् १६७०) तथा जीवाणु (१६८३) को खोजमा आन्तोन भानल्यूवनहुकले आफूले विकास गरेको सुदृढ सूक्ष्म दर्शक यन्त्रको प्रयोग गरेका थिए । सन् १६१० मा थर्मामिटर र १६४३ मा ब्यारोमिटरको आविष्कार भएपश्चात् तापक्रम र हावाको चाप नाप्न सहज भयो । (बुट्टन, २०१५)
महर्षि सुश्रुतले एनेस्थेसियाका रूपमा रक्सीको प्रयोग गर्थे । पाँच सय वर्ष अघिसम्म इङ्ल्याण्डमा शल्य क्रिया गर्नुअघि मानिसको शरीर काट्ने कामको जिम्मा कसाईलाई दिइने गरिन्थ्यो ।
सन् १९५५ तिर अमेरिकामा ‘अनुहार र हात मात्रै होइन, सम्पूर्ण शरीर नै सफा राख्न नुहाउनु पर्छ’ भन्ने खालका चेतनामूलक विज्ञापनहरू पत्रिकामा छापिने गर्थे । हाम्रो देशमा अहिले पनि हात धुन सिकाउने नाममा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले अर्बौँ रुपैयाँ खर्च गरिरहेका छन् ।
सन् १७०६ मा एडवर्ड जेनरले गरेको ठेउलाको खोपको आविष्कार होस वा सन् १९४३ मा भएको एन्टिबायोटिकको आविष्कार, जोनास सल्कले धेरैपछि अर्थात् सन् १९५५ मा आविष्कार गरेको पोलियो खोप, यी सबैले स्वास्थ्य क्षेत्रलाई समृद्ध पारे । सन् १८१६ मा गरिएको स्टेथोस्कोपको आविष्कार र त्यसको दुई वर्षपछि विकास गरिएको ब्लड ट्रान्सफ्यूजन पद्धतिको विकासले स्वास्थ्य क्षेत्र नै नयाँ युगमा प्रवेश गरेको अनुभूति भयो ।
सन् १८९५ मा जर्मन भौतिक शास्त्री रेन्टजेनले आविष्कार गरेको एक्स–रे पद्धतिले शरीरको आन्तरिक बनावट थाहा पाउने विधिको विकास भयो । मस्तिष्कको गहन आन्तरिक अध्ययनका निम्ति सन् १९२४ मा आविष्कार गरिएको इलेक्ट्रो इन्सेफालोग्रामले जस्तै सन् १९५८ मा विकास गरिएको अल्ट्रासाउण्ड पद्धतिले ध्वनि तरङ्गको सहयोगमा पेटको आन्तरिक अध्ययनमा सघाउ पुर्यायो । सन् १९५८ मै स्वीडेनका चिकित्सकहरूले कृत्रिम अङ्गहरू अर्थात् बायोनिक्सको विकास गरे । सन् १९८२ मा गरिएको कृत्रिम मुटुको विकासले स्वास्थ्य क्षेत्रमा नयाँ सम्भावनाहरूको पुष्टि गरेको छ ।
चिकित्सा क्षेत्रमा आएको सुधारले समाजका हरेक तप्कामा असर पारेको छ । चिकित्सा शास्त्रको विकासमा विज्ञान तथा प्रविधिको भूमिका महत्त्वपूर्ण मानिन्छ । लुई पाश्चरले विकास गरेको जर्मनथ्योरी वा क्लोरोफर्मको वा एक्स—रे को आविष्कार, यी सबैले चिकित्सा शास्त्रलाई प्रभावकारी बनाउन सहयोग पुर्याए । जङ्गलबाट कृषिमा पदार्पण गर्दा अर्थात् करिब १० हजार वर्षअघि भएको मानवीय सरदर आयु २५ वर्षबाट बढेर अहिले ८० को हाराहारीमा पुग्नुको मुख्य कारण पनि यही हो ।
सूक्ष्म औषधि (नानो मेडिसिन)
सूक्ष्म प्रविधि (नानो टेक्नोलोजी) को विकासका सन्दर्भमा हाल विश्वव्यापी रूपमा अचम्मका आविष्कारहरू हुन थालेका छन् । सन् १९५९ मा अमेरिकी वैज्ञानिक रिचार्ड फेनम्यानले सूक्ष्म प्रविधिबारे पहिलोपल्ट पुष्टि गरेका थिए ।
नानो भन्नाले एक अर्बको एक अंश हो । यति सानो प्रविधिको प्रयोग गरी सानोभन्दा सानो कुरालाई परिवर्तन गर्नु वा नयाँ वस्तु बनाउने विधिको विकास भयो । सन् १९८० यता नानो प्रविधिको प्रयोग विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा हुने गरेको छ । कोषको केन्द्रिकाभित्र रहेका डिएनएलाई नै परिवर्तन वा मर्मत सम्भार गरी वस्तुको विकास गर्न यसबाट सम्भव भएको छ । सूक्ष्म प्रविधिको प्रयोग अहिले सुरक्षा, सौन्दर्य, खाद्यान्न, स्वास्थ्य आदि विविध क्षेत्रहरूमा प्रयोग हुने गरेको छ ।
प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार ८ : ३८ बजे
प्रतिक्रिया