मन्थली विमानस्थलमा पानी पस्यो

कैलालीमा हावाहुरीले केरा खेतीमा क्षति

टीकापुर । कैलालीमा शनिवार बेलुका आएको हावाहुरीले क्षति गरेको छ । 

हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ । हावाहुरीका कारण टीकापुर–१ विशाल नगरका भरत विकको तीन कोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ ।

त्यस्तै, टीकापुर–४ का भल्लुराम चौधरीको दुई कोठे कच्ची घर र भान्सामा रुख ढलेर क्षति भएको छ । हावाहुरीका कारण यहाँ सयौँ घरका छानामा भएका जस्तापाता उडाएका, विद्यालयका छाना उडाएका र  ठाउँ–ठाउँमा बिजुलीका पोल ढलेका छन् ।

हावाहुरीकै कारण जिल्लामा केरा खेतीका क्षति भएको छ । हावाहुरीका कारण टीकापुर क्षेत्रमा मात्रै सयौँ बिघा केरा खेती नष्ट भएको किसानको गुनासो छ । टीकापुरका केरा किसान टेकेन्द्र धामीको १० बिघामा लगाएको केरा खेती हावाहुरीले ढालेको छ । केरा उत्पादन हुने समय नजिकिँदै गर्दा हावाहुरीले केरा खेतीमा नोक्सानी गरेपछि किसान पीडामा छन् । टीकापुर केरा खेतीका लागि उर्वर भूमि मानिन्छ । यहाँ सयौँ बिघा जमिनमा खेती गरिएको छ । हावाहुरीले कतिपय किसानका पुरै बारी ढालेको छ ।

यसका साथै हावाहुरीले तरकारी खेतीमा समेत नोक्सानी गरेको किसानको गुनासो छ । “लहरे तरकारी बाली सबै ढालेको छ । लटरम्म फलेका बोडी, फर्सी, काँक्रा, लौका, करेलाजस्ता तरकारीमा नोक्सान भएको छ”, किसान झपिन्द्र चौधरीले भन्नुभयो, “तरकारी बारी पुरै हावाहुरीका कारण धुलाम्मे भएको छ । माटो र बालुवा आएर बारीमा भरिएको छ ।”

हावाहुरीका कारण क्षति भएका विवरण आइरहेकाले क्षतिको विवरण सङ्कलन गरी नगरपालिकाले पीडामा रहेका किसानलाई राहतका कार्यक्रम ल्याउने टीकापुर  नगर उपप्रमुख खड्कबहादुर शाहले बताउनुभयो । “जताततैबाट क्षति भएको विवरण आउन थालेका छन्”, उहाँले भन्नुभयो, “आज कार्यपालिका बैठक र विपद् व्यवस्थापन समितिको बैठक बसेर राहतका कार्यक्रम ल्याउँछौँ ।”

हावाहुरीसँगै वर्षा भएपछि भने यहाँ शीतलता महसुस भएको छ । अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएका नागरिकले वर्षा भएपछि केही शीतलता महसुस गरेका छन् । रासस

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ७ : ४७ बजे