आज वर्षाको सम्भावना

एमाले बाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित र आधुनिक बनाउन सक्दैन : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी बाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने दाबी गर्नु भएको छ ।

स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारहरूको सम्मानमा शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राजनीतिभन्दा माथि उठेर कुरा गर्ने हो भने पनि मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, विकासको बाटोमा अघि बढाउन एमाले बाहेकका अन्य शक्तिले नसक्ने बताउनु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यथार्थ के हो भने–एमालेजस्तो देशलाई माया गर्ने, देशको हितमा लड्ने र देशका निम्ति मरिमेटिने अर्को पार्टी छैन । कसैसँग यस्तो विचार छैनन् । एमाले बाहेक कसैले समृद्ध नेपाल: सुखी नेपाली भनेको सुन्नु भएको छ ? कसैले भन्दैनन् । राष्ट्रियताको कुरा अरू कसैले भन्नेको सुन्नु भएको छ ? नेपालको भूमि सामेल गरेर नक्सा बनाउन एमाले चाहियो । उत्तरतिरबाट बाटो खोल्न एमाले चाहियो । हाम्रो जमिन डुब्यो, खोल्न एमाले चाहियो । हाम्रो सिमाना सारियो, ठिक बनाउन एमाले चाहियो । अरू शक्तिहरू, व्यक्तिहरू, बोल्छ कोही रु त्यसकारण मेरो आग्रह यति हो–कि देशलाई माया गरौँ । देशलाई माया गर्ने बित्तिकै एमाले आफै मकैका घोघाझैं हुन्छ । त्यो माया एमालेको भागमा स्वतः पुग्छ ।’

अध्यक्ष ओलीले देशको भूभाग समेटेर नक्सा जारी गर्न, चीनतिरको नाका खुलाउन, तराईमा डुबान भएको जमिन खोल्न, मिचिएको सीमा समस्या समाधान गर्न एमाले नै चाहिएको भन्दै अरू पार्टीहरुले त्यो गर्न नसक्ने बताउनु भयो । उहाँले आफ्नो पार्टीलाई मुलुकको अहित भएको सह्य नहुने चेतावनी समेत दिनु भयो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ९ : २९ बजे