उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री

सोल । उत्तर कोरियामा पहिलो पटक महिलालाई विदेश मन्त्रीमा नियुक्त गरिएको छ । 

अनुभवी कूटनीतिज्ञ चोए सोन हुइले उत्तर कोरियाको पहिलो महिला विदेश मन्त्री बन्ने मौका पाउनु भएको हो । 

यसअघि उपविदेश मन्त्रीको रुपमा पनि सेवा गर्नु भएकी हुइले अहिले रि सोन ग्वोनलाई विस्थापित गर्नु भएको अधिकारीहरूले जनाएका छन् ।

कूटनीतिक सेवावाट आउनु भएकी हुइले दुई देशीय वार्ताका क्रममा पनि विगतमा महत्वपूर्ण योगदान गर्नु भएको थियो । उहाँलाई अङ्ग्रेजी भाषाको पनि राम्रो ज्ञान छ । 

अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प समेत सहभागी भएको उत्तर कोरिया र अमेरिकी शीर्ष नेताहरूको शिखर बैठकमा पनि उहाँले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । 

उहाँले भन्नुभयो, “मलाई लाग्छ, हाम्रो प्रस्तावलाई अस्वीकार गरेर अमेरिकाले सुनौलो अवसर गुमाएको छ ।” 

अन्य देशहरूसँगको विविध वार्ता तथा छलफलहरूमा पनि सहभागी भएको र विदेशी कतिपय कूटनीतिज्ञहरूसँग पनि आफ्नै विशेष सम्बन्ध भएकाले विदेश मन्त्रालयको जिम्मेबारी उहाँले प्रभावकारी रुपमा निर्वाह गर्न सक्ने अपेक्षा गरिएको छ ।   

 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ३ : १२ बजे