बोलिभियाकी पूर्व राष्ट्रपति अनेजलाई १० बर्ष जेल सजायको फैसला

लापाज । बोलिभियाकी पूर्व राष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ । 

उहाँलाई गिरफ्तार गरेको झण्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजाय दिनुपर्ने फैसला गरेको हो ।

अहिले ५४ वर्ष हुनुभएकी अनेजलाई गत वर्ष सन् २०२१ को मार्चमा गिरफ्तार गरेर अदालतमा सुनुवाइ र अनुसन्धान प्रक्रिया चलाइएको थियो । 

उहाँले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आउनु भएको छ । आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा झुटा आरोपहरू लगाइएको उहाँको भनाई छ । 

पूर्व राष्ट्रपति अनेजले आरोपलाई अस्वीकार गरेपनि अदालतले दोषी ठहर गर्दै कारागार सजाय दिनुपर्ने फैसला गरेकाले उहाँले महिला कारागारमा तोकिएको समय बिताउनु पर्ने भएको छ । उहाँलाई लापाज स्थित कारागारमा राखिने अधिकारीहरूले जनाएका छन् ।  

उहाँले संविधानले दिएको आफ्नो जिम्मेबारी र अधिकारभन्दा बाहिर गएर अपराध गरेको देखिएकाले उहाँलाई सजायको फैसला गरिएको अदालतको भनाई छ । 

उहाँका विपक्षीहरूले भने उहाँलाई कम्तीमा १५ वर्ष जेल सजाय हुनुपर्ने माग अदालतसँग गरेका थिए । उहाँलाई राष्ट्रपति हुनुअघि सिनेटर भएको बेला देखि कै विभिन्न आरोपहरू लगाइएको छ ।

दक्षिणपन्थी नेतृ अनेज सन् २०१९ को नोभेम्बरदेखि ठिक एक वर्ष बोलिभियाको अन्तरिम राष्ट्रपति बन्नु भएको थियो । त्यसअघि उहाँ बोलिभियाको सिनेटको उपाध्यक्ष हुनुभएको थियो । उहाँले तत्कालीन राष्ट्रपति इभो मोरालेजले राजीनामा दिएपछि आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गराउनु भएको थियो । 

मोरालेजले गराएको निर्वाचनमा धाँधली भएको भन्दै देशभरी चर्को विरोध भएपछि उहाँले राजीनामा दिन वाध्य हुनु परेको थियो । राजीनामापछि आफूलाई असुरक्षा महसुस भएको भन्दै उहाँले मेक्सिकोमा शरण लिनु भएको थियो । उहाँले देश छाडेकाले पनि अन्तरिम राष्ट्रपतिको जिम्मेबारी सम्हाल्न अनेजलाई सजिलो भएको थियो । 

अनेज राजनीतिमा आउनु भन्दा अगाडि अधिवक्ता तथा लोकप्रिय टेलिभिजन कार्यक्रम प्रस्तोता समेत हुनुहुन्थ्यो । 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  २ : २७ बजे