‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

ग्रामीण कृषकको जीवनस्तर उकास्न बाख्रा वितरण

बनियानी। झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका कृषकलाई ५०० बाख्रा वितरण गरेको छ ।

कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले ‘मेयर पकेट बाख्रा साटासाट कार्यक्रम’ अन्तर्गत उक्त बाख्रा वितरण गरिएको नगरपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्राकुमारी दाहालले जानकारी दिनुभयो । “नगरवासीलाई पशुपालनमा प्रोत्साहन गर्न र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने योजनाअनुरुप बाख्रा वितरण गरिएको हो”, उहाँले भन्नुभयो, “विसं २०७४ यता ५०० बाख्रा र १६५ खोर निर्माण गरिएको छ ।” बाख्राको खोर निर्माणका लागि मात्र रु ४१ लाख खर्च भएको उहाँले बताउनुभयो ।

नगरप्रमुख पवित्रा महतारा प्रसार्इंले ग्रामीण क्षेत्रका कृषकको जीवनस्तर उकास्न यो कार्यक्रम ल्याइएको बताउनुभयो । “यस कार्यक्रमबाट धेरै कृषकले लाभान्वित हुनुभएको छ”, उहाँले भन्नुभयो । कुनै पनि कारणले बाख्रा म¥यो भने त्यसको प्रमाणसहित आएमा अर्को बाख्रा उपलब्ध गराइने उहाँले बताउनुभयो ।

यसैबीच, नगरपालिकाले वडा नम्बर ८ मा १५ जना कृषकलाई तीन वटाका दरले ४५ वटा र किसानभिट्टा व्यावसायिक पशुपालन तथा कृषक समूहलाई एउटा बोयर जातको बीउ बोका वितरण गरेको छ । यसअघि बाख्रा प्राप्त गरेको वडा नम्बर ७ को श्रीजङ्घा बाख्रापालन कृषक समूह र हरियाली बाख्रापालन समूहले आफ्नो दायित्वअनुसार फिर्ता गरेको बाख्रा किसानभिट्टा व्यावसायिक पशुपालन तथा कृषक समूहका कृषकलाई वितरण गरिएको हो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ११ : ०४ बजे