स्थानीय चुनावले दिएको परिणामले वामपन्थी कित्ताको जनमत पुरै भाँडिएको देखियो । वामपन्थी दलहरूका बीचमा बितेका तीन वर्षमा एक अर्कालाई सिद्ध्याउन जस्तोसुकै हर्कत गर्ने जुन अस्वस्थ्य वातावरण थियो, त्यसको नतिजा यो नै हुनु थियो र भयो । यो अवस्था आउन को को र कति जिम्मेदार छन् भन्ने कुराको लेखाजोखा इतिहासले छर्लङ्ग पार्ला । विगतको भाँडभैलोले प्रत्यक्ष रूपमा गैर वामपन्थी र प्रतिक्रियावादी कित्तालाई बलियो बनाउने काम मात्र गरेन, दुनियाँमा अशान्ति मच्चाउँदै आएको अन्तर्राष्ट्रिय प्रतिक्रियावादको प्रभुत्वलाई देशभित्र बलियो पार्ने काम समेत गर्यो । सिद्धान्त, सांगठानिक अनुशासनलाई पालन नगर्ने अराजक प्रवृत्तिले कसलाई बलियो पार्ने काम गर्यो भन्ने कुरा सतहमा नै देखिँदै छ ।
नेकपा माओवादी, नेकपा एसजस्ता वामपन्थी कित्ताका समूहहरू त एमालेलाई हराउने र आफूलाई नेपालको वामपन्थको मूलधार साबित गर्न काँग्रेससँग सत्ता गठबन्धन बनाएर खुलेरै काँग्रेसलाई बलियो बनाउन सक्रिय भए । सकेसम्म नेपालको वामपन्थको मूलधार रहेको एमाले नेतृत्वलाई विस्थापित गरेर त्यसमाथि कब्जा जमाउने, नभए काँग्रेसलाई बलियो पारेर भए पनि एमालेलाई पत्तासाफ पार्ने र चुनावमा एमालेभन्दा बलियो बन्ने मनको लड्डु उनीहरूले बनाएर राखेका थिए । तर, यो चुनावमा उनीहरूले एमालेलाई आफूभन्दा तल झार्न भने सकेनन् । यसरी वामपन्थीहरू नराम्रोसँग परास्त भए । आउँदो संसदीय चुनावमा एमालेलाई ठेगान लगाउने रणनीतिलाई साकार पार्ने सक्रियता जारी नै छ ।
चुनावमा आशा अनुरूप सफलता हात नलागेपछि वामपन्थीहरू बीचको कुनै कुनाबाट वाम एकताको स्वर झिनो रूपमा उठेको पनि देखिन्छ । तर, यो स्वरमा पनि नेपाल र नेपालको वामपन्थलाई बलियो पार्ने भन्दा पनि कसरी सत्तामा पुग्ने भन्ने सत्तामुखी स्वार्थबाट प्रेरित देखिन्छ । जसले सत्तामा पुगेपछि आन्तरिक लुछाचुँडी गर्ने अर्को वितण्डाको ढोका खुलै राख्छ । यो प्रवृत्तिले नेपालको वामपन्थी आन्दोलनलाई तहसनहस पार्ने काम गर्दै आएको छ । नेपालको वामपन्थले नेपालमा परिवर्तनका नाममा आन्दोलन गर्ने काम त गर्यो तर नेपाली चाहना अनुरूप आफूलाई परिचालन गर्न भने सफल देखिएन । विदेशी स्वार्थहरूले जहिले पनि उसलाई प्रयोग मात्र गरेको देखियो ।
पछिल्ला वर्षहरूमा प्रतिगमनका विरुद्ध केही वाम भनिने दलहरू सम्मिलित गठबन्धनको सत्ताले देशले अँगाल्दै आएको असंलग्न विदेश नीतिलाई परित्याग गर्दै अन्तर्राष्ट्रिय प्रतिक्रियावादको एकपछि अर्को तावेदारी गरेर देशलाई अप्ठ्यारोमा पार्ने काम गरिरहेको छ । यसले नेपालको वाम आन्दोलन र देशको स्वतन्त्रतामाथि नै खतरा उत्पन्न गरिरहेको छ । आफूलाई वामपन्थी भन्नेहरू नै यस कार्यमा संलग्न रहनु कम रहस्यमय छैन । यो कदम नेपालको वामपन्थका लागि आत्महत्या सरह हुने देखिन्छ ।
सोभियत सङ्घको पतन र त्यसपछि विश्वमा कम्युनिष्ट आन्दोलनले धक्का व्यहोरिहेको समयमा नेपालमा भने कम्युनिष्ट शक्तिले लोकप्रियता हासिल गरेको देखेर दुनियाँ चकित परेको छ । सशस्त्र सङ्घर्ष, वर्ग सङ्घर्षको बाटोबाट एक्कासि संसदीय पुँजीवादी लोकतन्त्रबाट पनि यसका सकारात्मक पक्षलाई उपयोग गर्दै लक्ष्यसम्म पुग्न सकिने आत्मविश्वास लिएर अगाडि बढेको नेपालको वामपन्थले देशभित्रका प्रतिक्रियावादीहरूलाई मात्र होइन, देश बाहिरकारहरूलाई समेत झस्काएको यथार्थ कसैबाट लुकेको छैन । नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको अगुवाइमा चालिएको यो साहसिक कदमले नेपाली साम्यवादी आन्दोलनले पुँजीवादी संरचनाभित्र लोकप्रियताको झण्डा गाड्न सफल भयो । त्यो लहर अहिले पनि कायम नै छ । तर, त्यो लहरको ग्राफ बिस्तारै विभाजित हुँदै अब तल झर्ने सङ्केत देखिँदै छ ।
छिमेकी देश भारतमा दक्षिणपन्थी शक्तिको उदयसँगै वामपन्थी र उदारवादी शक्ति कमजोर हुँदै गएको परिप्रेक्ष्य नेपालमा त्यसको प्रभाव छिट्टै पर्न सक्ने तथ्यलाई नकार्न सकिन्न । नेपालमा उदारवादी भनेर चिनिएको नेपाली काँग्रेस पनि यसबाट खतरामुक्त देखिन्न ।
नेपालमा बिस्तारै टाउको उठाउँदै गरेको सामन्तवादको पुनर्स्थापनाको पक्षधर शक्तिले जनाधार आर्जन गरेपछि नेपालका वामपन्थी र उदारवादी दुवै कमजोर हुने अवस्था सिर्जना हुँदै छ । सत्ता प्राप्त गर्न र भारतीय दक्षिणपन्थीको आशीर्वाद पाउन लालायित नेपाली वाम र उदारवादीहरूको एउटा खेमा पुनर्स्थापित सामन्तवादको पछि लाग्ने सङ्केत देखिँदै छ । यसरी भारतीय दक्षिणपन्थी र नेपाली दक्षिणपन्थीको नेपालमा प्रभाव बढ्ने छ । हिन्दुसम्राट र हिन्दुत्वका मुद्दाहरूले राजनीतिक रूपले निराश नेपाली जनमतलाई प्रभावित नपार्लान् भन्न सकिन्न, किन भने उनीहरूका लागि योभन्दा सजिलो अर्को बाटो छैन ।
अहिलेसम्म नेपालको राजनीतिमा लोकप्रिय रहेका वामपन्थीहरूलाई बाहिर राखेर कुनै राजनीतिक कार्य गर्न नसकिने अवस्था भएपछि नेपालमा चलखेल गर्दै आएका बाहिरी शक्तिहरूले वामपन्थीहरूलाई विभिन्न माध्यमबाट प्रयोग गर्दै कमजोर पार्ने रणनीति लिँदै आएका छन् । अहिलेभन्दा अपत्यारिलो लागे पनि यो वास्तविकता हो । नेपालमा अहिलेसम्म भएका भनिएका आन्दोलनहरू नेपालीभन्दा पनि विदेशी चाहनामा भएको यथार्थ छर्लङ्ग भइसकेको छ र अब पनि त्यस्तै हुने छैन भन्ने विश्वास गर्ने आधार कतै देखिन्न । ७ सालपछि परिवर्तनका नाममा धेरै नेपालीले ज्यान गुमाए, विदेशी स्वार्थलाई चुनौती दिन खोज्ने नेताहरूको के हाल भयो – फर्केर हेर्दा छर्लङ्ग देखिन्छ । यो खतराप्रति नेपालका राजनीतिक दल र सचेत भनिने वर्गमा कुनै सचेतनता देखिँदैन । सम्भवतः यो वामपन्थी दलहरू संसदीय विकृतिमा रमाइरहेको अवस्था हो । यसबाट समयमा नै शिक्षा नलिने हो भने अबका दिनहरू सुखद हुने देखिँदैन ।
प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार १० : ४१ बजे
प्रतिक्रिया