पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित

काठमाडौँ ।  नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित हुनुभएको छ । 

गए राति सम्पन्न अन्तिम मत परिणाम अनुसार शेर्पाले ७३५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत ल्याउनुभएको थियो ।

सङ्घको उपाध्यक्षमा ठाकुरराज पाण्डे ४२८ मत ल्याएर निर्वाचित हुनुभएको छ । उपाध्यक्षका अर्का प्रतिस्पर्धी माया शेर्पाले ४२३ मत ल्याउनुभएको छ । प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावा जाङ्बु शेर्पा निर्वाचित हुनुभएको छ । 

यसैगरी महासचिवमा मोहन लम्साल ४८९ मतका साथ विजयी हुनुभएको छ । महासचिवका अर्का प्रत्याशी आङ पेम्बा शेर्पाले ३२३ मत प्राप्त गर्नुभएको छ । सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यमा आङदावा शेर्पा, हिसखद गुरुङ, सिङ्गी लामा, पीताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नम्ग्याल जाङ्बु शेर्पा, पाशाङदावा शेर्पा र दिनेश तामाङ निर्वाचित हुनुभएको छ । 

नयाँ नेतृत्व चयनका लागि शुक्रवार प्रज्ञा भवनमा बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । 

सङ्घको दुई हजार ४९ सदस्यमध्ये नवीकरण भएका कूल एक हजार २१५ मतदाता रहेका थिए । अध्यक्षसहित पदाधिकारी र सदस्य गरी २७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन भएको सङ्घले जनाएको छ । 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  १० : १२ बजे