आँबुखैरेनी–मुग्लिन खण्डमा ठुला सवारी नचल्ने

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा ठुला सवारी साधन नचल्ने भएका छन् । 

आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएकाले केही दिन ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । 

उक्त सडक खण्डबाट साना सवारी साधनलाई एकतर्फी रूपमा सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । सडक भासिएको ठाउँबाट माइक्रो, साना कार, मोटरसाइकल मात्रै वारपार गराइएको उहाँले बताउनुभयो । 

सडक भासिएको ठाउँमा सडक डिभिजन कार्यालयले शुक्रवारदेखि नै भित्ता काट्न थालेको छ । ठुला सवारी साधन सञ्चालन गर्दा जोखिम हुने भएकाले केही दिन ठुला सवारी साधन सञ्चालन गर्न नसकिने सडक डिभिजन कार्यालयले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयले उक्त खण्डमा शुक्रवार राति ७ बजेदेखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्मका लागि यातायात सञ्चालन पूर्ण रूपमा बन्द गरेको छ । रातिको समयमा जोखिम हुने भएकाले यातायात सञ्चालनमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले बताउनुभयो । 

सडक भासिएर एउटा कार र एउटा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा हेटौँडाका ३५ वर्षीय हेमबहादुर भुजेल र गोरखा घर भई आँबुखैरेनी–२ बस्ने ३३ वर्षीय केशव घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।रासस 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ८ : १६ बजे