आज वर्षाको सम्भावना

प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणबारे संसद्मा किन जानकारी नगराएको ? : सांसद सूर्यप्रसाद पाठक

काठमाडौं – नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे सदनमा जानकारी गराउन माग गरेको छ ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा एमाले सांसद सूर्यप्रसाद पाठकले अमेरिका भ्रमणमा प्रधानमन्त्री र प्रधानसेनापति जान लागेको विषयमा हालसम्म किन सदनलाई जानकारी नगराएको भन्दै प्रश्न गर्नुभयो । ‘नेपाल कतै आइपीएस सहभागी हुने हो की भन्ने आशंका पैदा भएकाले प्रधानमन्त्रीले संसदको रोष्ट्रममा उभिएर यसको जवाफ दिनुपर्छ,’ उहाँले भन्नुभयो ।

उहाँले जेठ २६ गते सत्ता घटक दलका प्रमुख सचेतकले राष्ट्रिय सुरक्षा संवेदनशिलताका सम्बन्धमा राखेको अभिव्यक्तीले प्रतिपक्षीलाई अत्यन्त चिन्तित चुल्याएको भन्दै हिन्द प्रशान्त रणनीतिमा सहभागी हुने हो कि भन्ने आशंका पैदा भएको धारणा व्यक्त गर्नुभयो ।

प्रमुख सचेतकको आशंका अनुसार अमेरिकाको भ्रमणका सैन्य गठबन्धनमा प्रवेश गर्ने हो की भन्ने देखिएकाले राष्ट्रिय स्वाधिनता, सार्वभौकिमता र भौगोलिक अखण्डताको विषयमा देश चिन्तित रहेको उहाँले बताउनुभयो । यस विषयमा प्रधानमन्त्रीलाई सदनमा जवाफ दिन सभामुखले रुलिङ गर्नुपर्ने माग उहाँको थियो ।

जेठ २६ गतेको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमण स्थगित गर्न माग गर्नुभएको थियो ।

अहिले अत्यन्तै संवेदनशील अवस्था रहेको बताउँदै गुरुङले अहिलेको परराष्ट्र नीति सैन्य नीतिमा गइरहेको समेत टिप्पणी गर्नुभयो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  १ : ०६ बजे