धादिङमा पहिरोले घर पुरिँदा एक जना हराए

धादिङ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरे गाउँमा पहिरोले घर पुरिँदा एक जना हराइरहेका छन् । 

घरमाथिबाट खसेको पहिरोले घर पुरिएपछि त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरे गाउँका ५५ वर्षीय सीताराम भन्ने नेत्रप्रसाद खाण हराइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सूचना अधिकारी राम थापाले जानकारी दिनुभयो । 

रातिको समयमा अविरल वर्षाका कारण भूकम्पबाट पुनः निर्माण गरिएको घरमाथिबाट सडक खनेर थुपारिएको माटोको ढिस्कोसहितको लेदोले पुरिएको थियो । घरका अन्य सदस्य अर्को घरमा रहेकोले सकुशल रहेका छन् । खाणको अवस्था भने पत्ता लागेको छैन । पहिरोले घर छोपिएको छ । 

ठुलो पहिरोले घर पुरिएको कारण उद्धारमा समस्या आएको छ । स्थानीय जनता, समाजसेवी र नेपाल प्रहरी उद्धारमा लागिरहेका छन् । घटनास्थल क्षेत्रमा जेसिबी जान नसकेको र थप उद्धार टोली आवश्यक भएको नेपाल रेडक्रस सोसाइटीका सभापति नारायण तिमल्सिनाले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  १० : ४० बजे