मन्थली विमानस्थलमा पानी पस्यो

मकै ब्लक कार्यक्रममार्फत पाल्पाका ४१४ किसान लाभान्वित

रामपुर (पाल्पा) । परम्परागत रूपमा मकै खेती गर्दै आएका रामपुरका किसान नयाँ प्रविधिको प्रयोग गरी खेती गर्न पाउँदा दङ्ग छन् । पुरानै ढङ्गले मकै लगाउँदै आएका यहाँका किसान मकै ब्लक कार्यक्रम परेपछि नयाँ प्रविधि सिक्दै खेती गरिरहेका छन् । 

पाल्पा जिल्लामै एक मात्र रामपुर नगरपालिका–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारीले उत्पादन बढाउन र नयाँ प्रविधि किसानलाई सिकाउन ब्लकमा मकै खेती सुरु गरेको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय पाल्पाअन्तर्गत कृषि ज्ञान केन्द्र पाल्पाले हेर्ने गरी यहाँ मकै बालीमा ब्लक कार्यक्रम सुरु गरिएको हो ।

ब्लक कार्यक्रम सञ्चालन भएको क्षेत्रमा यसभन्दा अघि परम्परागत रूपमा मकै, धान, गहुँ बाली किसानले लगाउँदै आएका थिए । पुरानो तरिकाले खेती गरेका यहाँका किसान ब्लक कार्यक्रममार्फत नयाँ प्रविधिको प्रयोग गरी उन्नत जातको बिउ, विभिन्न औजार तथा यन्त्र अनुदानमा प्रयोग गर्न पाउँदा उत्पादन बढ्ने कृषक तुलसी खनाल बताउनुहुन्छ । 

“मकै खेती जाने बुझेदेखि नै गर्दै आएको हो, खेती गर्दा लागत, मेहनत धेरै लाग्ने तर उत्पादन सोचेअनुसार हुँदैनथ्यो, अहिले मेसिनबाट मकै रोप्ने प्रविधि भित्रिएको छ, लाइनमा मकै रोप्ने होइन, हामी त अन्धाधुन्ध तरिकाले खेतबारीमा सिधै मकै छर्थ्यौँ, अनि उत्पादन भएन, फल लागेन भन्यौँ र बस्यौँ”, उहाँले भन्नुभयो । सहकारीका ४१४ कृषक आबद्ध भई ब्लकमा मकै खेती गरिरहेका छन् । 

ब्लक कार्यक्रमअन्तर्गत यहाँ दुई हजार ६०० रोपनी जग्गामा मकै खेती गरिएको छ । मकै खेतीमा ब्लक कार्यक्रम सञ्चालन गर्न सबैभन्दा पहिला जग्गा उपयुक्त छ कि छैन त्यसको छनोट गर्नुपर्दछ । कृषि प्राविधिकले उपयुक्त ठहरेको जग्गा छनोट गरी कम्तीमा दुई हजार रोपनी क्षेत्रफलमा खेती गरिनुपर्ने कार्यविधि छ ।  

निर्वाहमुखी खेती प्रणालीले लागत र मेहनतअनुसार उत्पादन लिन नसकिरहेको अवस्थामा अब उत्पादन वृद्धि गर्न नयाँ प्रविधिबाट खेती प्रणाली सिकाएर कृषकको आर्थिक स्तर उकास्न ब्लक कार्यक्रमले ठुलो सघाउ पुग्ने बताउनुहुन्छ, कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारी ।

उहाँ भन्नुहुन्छ, “एक दुई वर्षसम्म मात्र नभई दीर्घकालीन रूपमा किसानलाई व्यावसायिक बनाउन, उत्पादन लागत घटाउँदै उत्पादकत्व वृद्धि गर्ने, मकै लगाउने पुरानो शैलीलाई विस्थापित गरी नयाँ प्रविधिबाट खेती गर्न सिकाउनका लागि ब्लक कार्यक्रमले ठुलो सघाउ पुग्नेछ । ” उत्पादन वृद्धि, बजारीकरण, यान्त्रीकरणमा सघाउ पुग्ने र लागत खर्च घटाउन, उद्देश्यले गरिएको ब्लक कार्यक्रममा सहभागी कृषकलाई अनुदानमा विभिन्न सामग्री उपलब्ध गराइएको छ । ब्लक क्षेत्रमा लगाइएको मकैको उत्पादन राम्रो हुँदै गएको र यस कार्यक्रमले उत्पादन कसरी बढाउन सकिने रहेछ भन्ने कुराको किसानले जानकारी पाएको कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउनुहुन्छ । 

“ब्लक विकास कार्यक्रम सञ्चालन गर्न एकै ठाउँमा ठुलो क्षेत्रफल आवश्यक पर्ने भएकाले रामपुरलाई नै छनोट गरिएको हो, किसानले यस कार्यक्रमबाट खेती लगाउने नयाँ प्रविधिका अलवा विभिन्न प्रविधि अनुदानमा प्राप्त गरेका छन्, उत्पादन बढाउने गरी खेती गरेको पाइएको छ”, उहाँले भन्नुभयो ।

ब्लक विकास कार्यक्रम भनेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय पाल्पाअन्तर्गत कृषि ज्ञान केन्द्र पाल्पाले हेर्ने गरी कार्यक्रम सञ्चालन भइरहेको छ । यस आर्थिक वर्षमा भने चार पालिकामा चार वटा नयाँ ब्लक विकासका कार्यक्रम छन् । जसअन्तर्गत रामपुरमा मकै बाली, रिब्दीकोट गाउँपालिकामा आलु बाली, निस्दी गाउँपालिकामा अदुवा बाली र पूर्वखोला गाउँपालिकाको जल्पा र देवीनगरमा तरकारी बालीमा ब्लक कार्यक्रम चलाइएको छ । 

गत आर्थिक वर्षमा जिल्लाका नौ पालिकामा पुरानो कार्यक्रम नै कर्मागत रूपमा चलिरहेको छ । जसअन्तर्गत रैनादेवीछहरा र रिब्दीकोट गाउँपालिकामा तरकारी बाली, तिनाउँ र माथागढी गाउँपालिकामा धान, रामपुर नगरपालिकामा आलु, निस्दी गाउँपालिकामा सुन्तला जात फलफूल, बगनासकाली गाउँपालिकामा अदुवा, तानसेन नगरपालिकामा भेटरीनरी अस्पताल तथा पशुविज्ञ केन्द्र पाल्पामार्फत गाईपालनको ब्लक कार्यक्रम सञ्चालन गरिएको हो ।

ज्ञान केन्द्रको रु २४ लाख ९८ हजार, सहकारी संस्थाको रु २२ लाख सात हजार गरी रु ४७ लाख पाँच हजारको लागतमा कार्यक्रम सञ्चालन गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय पाल्पाका प्रमुख दीपक भट्टराईले विभिन्न बाली प्रवर्द्धन गर्नुका साथै कृषकलाई नयाँ प्रविधिको प्रयोग गराउन सिकाउँदै व्यावसायिक रूपमा खेती गरी आत्मनिर्भर बनाउन ब्लक कार्यक्रम सञ्चालन गरिएको बताउनुहुन्छ ।

सहकारीले २०७८ फागुन १८ गते सम्झौता गरी कार्यक्रम अगाडि बढाएको छ । अहिलेसम्म किसानलाई अभिमुखीकरण कार्यक्रम, मकै खेती प्रविधिसम्बन्धी तालिम, विभिन्न यान्त्रीकरण सामग्री, उन्नत बीउ वितरण गरिएको सहकारीका अध्यक्ष भेषबहादुर वंशीले बताउनुभयो । उहाँका अनुसार यन्त्र र उपकरण ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ । 

सहकारीले कृषि क्षेत्रलाई बढवा दिँदै व्यवसायीकरण बनाउन संस्थामा आबद्ध सदस्यलाई च्याउ खेती, तरकारी खेती प्रोत्साहनजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको थियो । हाल सहकारीमा ९१४ सेयर सदस्य रहेका छन् । रासस

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ८ : ५२ बजे