आज वर्षाको सम्भावना

नवनिर्वाचित जनप्रतिनिधिलाई एमाले काठमाडौंले दियो प्रशिक्षण  

काठमाडौँ – नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय तह सञ्चालनको कार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा दुई दिनको प्रशिक्षण  दिएको छ ।

पार्टीको निर्वाचनसम्बन्धी घोषणा पत्र, स्थानीय तह सञ्चालनसम्बन्धी कानुनी व्यवस्था, संघ, प्रदेश र स्थानीयको अधिकार क्षेत्रबारे, स्थानीय तहको बजेट निर्माण प्रक्रिया, अनुगमनका साथै जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धबारे नवनिर्वाचित जनप्रतिनिधिले कसरी बिषय उठान गर्ने भन्नेबारेमा नेकपा एमालेले प्रशिक्षण दिएको हो ।

बुढानीलकण्ठ नगरपालिकाबाट सुरु भएको स्थानीय तह सञ्चालनसम्बन्धी प्रशिक्षण काठमाडौँका ११ वटै नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई दिइएको एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले जानकारी दिनुभयाे ।

बिहीबारदेखि सुरु भएको कार्यक्रममा २० देखि २१ गते बुढानिलकण्ठ नगरपालिका, २१ र २२ गते गोकर्णेश्वर र कागेश्वरी नगरपालिका, २२ र २३ गते टोखा नगरपालिका २३ र २४ गते नागार्जुन र चन्द्रागिरी नगरपालिका २४ र २५ गते शंखरापुर र तारकेश्वर नगरपालिका २५ र २६ गते काठमाडौं नगरपालिकाका जनप्रतिनिधिलाई तालिम दिइएको थियो ।

तालिममा काठमाडौं जिल्लाअन्तर्गत रहेका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधि, नगर कमिटी र जिल्ला कमिटिका तोकिएका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

तालिमका प्रशिक्षकहरुमा नेकपा (एमाले)का उपमहासचिव एवम् संविधानसभा सदस्य  विष्णु रिमाल, नेकपा (एमाले)का  स्थायी समिति सदस्य एवम् प्रतिनिधिसभा सदस्य डाक्टर विन्दा पाण्डे, नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधि सभाका सदस्य  कृष्ण राई, बागमती प्रदेश सभा सदस्य एवं काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, नेकपा ( एमाले), केन्द्रीय स्कुल विभाग सदस्य एवम् बागमती प्रदेश योजना आयोगका पूर्व सदस्य रामशरण प्याकुरेल, नेकपा (एमाले) केन्द्रीय स्कुल विभाग सचिव एवम् संविधानसभा सदस्य  पेम्बा लामा, मदन भण्डारी फाउन्डेसनका सदस्य मिलन धरेल, उपप्रध्यापक  कमान सिं आर.सी.,अधिवक्ता ज्योतिराम फुयाल, अधिवक्ता  भरत कार्की, तारकेश्वर नगरपालिकाका पूर्व उपप्रमुख अधिवक्ता  भवानी डोटेल, टोखा नगरपालिकाका पूर्व उपप्रमुख ज्ञानमाया डंगोल लगायत हुनुहुन्थ्यो । 

कार्यक्रमको जानकारी नेकपा (एमाले) जिल्ला कमिटीका सहसचिव तेज ढकालले दिनुभएको थियो भने कार्यक्रममा उपस्थित प्रशिक्षक, सहभागि तथा अथितिहरुलाई जिल्ला पार्टी स्कुल विभाग प्रमुख उषा किरण भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियो।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ४ : ०९ बजे