पृथ्वी राजमार्गको पहिरो हटाई दुईतर्फी सवारी सञ्चालन हुन समय लाग्ने

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले गएरातिदेखि अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी खुल्न अझै केही समय लाग्ने बताउनुभएको छ । 

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका–५ नाग्दी खोलास्थित ५० मिटर आसपासको छेउका २ स्थानमा पहिरो झरेका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । 

“अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो झर्ने क्रम समेत नरोकिएका कारण सडक खुलाउन प्रयास भइरहेता पनि समस्या आएको छ” प्रवक्ता अधिकारीले भन्नुभयो, “‘पहिरो हटाई दुई तर्फी सवारी सञ्चालन हुन अझै समय लाग्छ ।” सडक खुलाउन दुई वटा जेसीबी प्रयोग भइरहेको उहाँले जानकारी दिनुभयो ।  

पहिरो झरी राती सवा ११ः०० बजेबाट दुई तर्फी अवरुद्ध भएको सडकमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । सवारी साधनहरू नारायणगढ, आँबुखैरेनी, मुवाखोला, गजुरी आसपासको क्षेत्रमै रोकिएका छन् । 

 

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  १२ : १५ बजे