‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एक पत्र : जनप्रतिनिधिहरूका नाम

नगर, उपमहानगर र महानगरपालिकाका नवनिर्वाचित प्रमुखज्यूहरू र गाउँपालिकाका अध्यक्षज्यूहरूलाई हार्दिक बधाई र सफल कार्यकालको मङ्गलमय शुभकामना छ । साह्रै धेरैबाट यहाँहरूले शुभकामना पाइरहनुभएको छ । यो शुभकामनाभन्दा ठुलो कुरा यहाँहरूले बहुसङ्ख्यक नागरिकहरूको मत प्राप्त गर्नुभएको छ । यसअघि पाँच वर्षअघि पनि यसै भएको थियो र अब पाँच वर्षपछि पनि यसै हुनेछ । मानिसहरू परे नपरे पनि पद स्थायी हो, जिम्मेवारी स्थायी हो । त्यस पदमा आसीन हुने मानिस फरक पर्न सक्दछ । 

यसभन्दा पहिलेका प्रमुख र अध्यक्षहरूले पनि ठुला ठुला विकास निर्माणका योजनाहरू बनाउनुभएको थियो । कुनैले अलि धेरै र कुनैले अलि थोरै भए पनि सफलता हासिल गर्नुभयो । जसले आफ्नो पालिकाका जनताको भावनाअनुसार काम गर्नुभयो र आफूलाई शासक नभई जनताको सेवक ठान्नुभयो, उहाँहरूले जनताको हृदयमा सम्मानसहित बास पाउनुभएको छ । यस विपरीत व्यवहार गर्नेहरूले जनताका हृदयमा बास त पाउनुभएको छ, जनताले बिर्सेका छैनन्, तर तिरस्कारसहित । जसले जनप्रतिनिधि भनेको जनताको सेवक हो शासक होइन भन्ने कुरालाई बिर्सेर आफूलाई हैकम चलाउने शासक ठान्नुभयो, गत वैशाख ३० गते सम्पन्न निर्वाचनका परिणामबाट वहाँहरूले यथोचित दण्ड र पुरस्कार पाइसक्नुभएको छ । तपाईँहरू जनतामाथि हैकम चलाउने शासक बन्ने वा सेवक ? तपाईँहरूको मर्जी । तर, हामी भने तपाईँहरू सेवक बनिदिए हुन्थ्यो भन्नेमा छौँ ।  

यति बेला तपाईँहरू वार्षिक बजेट बनाउने तरखरमा हुनुहोला । ठुला ठुला कुरामा तपाईँहरूको ध्यान पक्कै पनि पुग्नेछ, यसमा शङ्का छैन । परन्तु झिना मसिना कुरामा यहाँहरूको ध्यान नपुग्न सक्छ भन्ने लागेर केही सुझाव दिने धृष्टता गरेको छु, चित्त बुझे कार्यक्रममा समावेश गर्नुहोला । साना ठुला सहर बजारमा विगत धेरै वर्षदेखि छोडुवा पशु (गाई, गोरु र भुस्याहा कुकुर)बाट सिर्जित समस्या चित्त बुझ्दो गरी समाधान भएको छैन, हुन सकेको छैन । यस पटक तपाईँहरूले यतातिर विशेष ध्यान दिनुहोला । छोडुवा गाई गोरुहरूबाट किसानहरू अत्यन्त पीडित छन् । भुस्याहा कुकुरबाट जनता त्यसबाट भन्दा पनि बढी पीडित छन् । पशुजन्य समस्यालाई समाधान गर्न केही अप्ठ्यारो भए पनि समाधान गर्न नसकिने भने होइन । गाई हिन्दुहरूको धर्म, संस्कृति र परम्पराको अभिन्न अङ्ग हो । उनीहरूका लागि गाई देवी र पृथ्वीको साकार रूप हो । सबैलाई थाहा छ गाईविना सनातनीहरूका कुनै पनि धार्मिक कार्य पूरा हुँदैनन् । गाई विनाको धार्मिक कार्यको फल पाइँदैन भन्ने मान्यता छ । गाई हाम्रो राष्ट्रिय जनावर पनि हो । 

त्यसैले यहाँ गोमांस भक्षण गर्ने परम्परा भएकाहरूले पनि गोहत्या गर्न पाउँदैनन् । यसलाई कानुनले बन्देज गरेको छ । दूध दिन छोडेका वृद्ध गाईलाई किसानहरूले सडकमा लगेर अलपत्र छोडिदिन्छन् । सहर बजारमा हिँड्न नजानेका गाईहरू दुर्घटनामा पर्छन् र दुर्घटना गराउँछन् । तिनीहरू गाडी चालकदेखि लिएर किसान र तरकारी व्यापारी सम्मका कोपभाजन भइरहेका छन् । तिनीहरू दिनमा धेरै पटक मर्छन्, दिनहुँ मरिरहेका छन्, मारिइरहेका छन् । गाडीको ठक्करबाट अङ्गभङ्ग भएका गाईको सङ्ख्या अनगिन्ती छ । उनीहरूले दिनहुँ क्रूर यातना सहिरहेका छन् । उनीहरू सडकमा मात्र नभएर गोठमा पनि मरिरहेका छन्, मारिइरहेका छन् । तिनीहरूलाई सोझै हतियार प्रयोग गरेर मारिँदैन । हतियारभन्दा पनि निर्मम तरिका रहेछ हत्या गर्ने ।

गोपालहरूद्वारा गाईको शिशुलाई दुई किसिमले मारिँदो रहेछ: 

  • ​​​​​​​१. माउको दूध चुस्नै नदिएर, 
  • २. जन्मेको दिनदेखि २४ घण्टासम्म माउको दूध खान नदिने र अर्को दिन पुरै दूध खुवाएर, (सुकेको आन्द्रामा धेरै दूध परेपछि अपच हुन्छ र छेरीछेरी मर्छ), सुकाएर र फुलाएर । 

गाईको उचित व्यवस्थापन हुन नसक्दा 

  • १.कतिपय पालिकाहरूले छाडा गाई व्यवस्थापन गर्ने, समस्या समाधान गर्ने नाउँमा ट्रकमा लगेर भिरबाट घुचेटिदिएर बीभत्स हत्या गराएको घटना पनि छ । 
  • २. पुलिससँग मिलेर झापाको बाटो बङ्गलादेश निकास गर्ने गरिन्छ भन्ने पनि सुनिँदै आएको छ । 
    छन् । 
  • ​​​​​​​३.गौशालाको नाउँमा घाँस पानी नदिएर कतिपय गौशालाहरू वधशालामा रूपान्तरण भइरहेका

मानिसहरू भन्छन्, नेपालीहरू गाईको मासु खान्नन् तर मार्छन् । यो भनाइ यथार्थको नजिक भएजस्तो लाग्छ । समस्या न्यूनीकरणका उपाय पनि छन्:

  • १.जन्मेको केही दिनभित्र बाच्छा सुमर्ने (Castration) गर्ने । यसो गरियो भने प्रजनन दर स्वाट्टै घट्छ र केही वर्षपछि स्थानीय प्रजातिका गाईको संरक्षण गर्नुपर्ने अवस्था आउन सक्छ । 
  • २.सबै गाई गोरुको स्वास्थ्य परीक्षण गरी कुनै रोग लागेको रहेछ भने उपचार गरिदिने ।  
  • ३.अनिवार्य पशु स्वास्थ्य बिमा गर्ने । 
  • ४. रोग निरोधक खोप दिने र आरक्षणसँग समन्वय गरी सुरक्षापूर्वक वन्यजन्तु आरक्षमा लगेर छोडिदिने ।

यसरी जङ्गलमा लगेर छोड्दा सोझै बाघको मुखमा हालिदिएको आरोप पनि लाग्न सक्छ । आरोप लगाउनेले गाईहरू वन्यजन्तु नै हुन् भन्ने कुरा बुझ्न जरुरी छ । तिनीहरूलाई मानिसले आफ्नो स्वार्थको निम्ति पाल्तु बनाएको हो । केही वर्ष पहिले जङ्गली बनेका गाईको ठुलो झुन्ड थियो । तिनीहरू रातिमा जङ्गलको आसपासका खेतमा पस्थे । एक्लै दुक्लैले तिनीहरूलाई धपाउन खोज्नु ज्यान जोखिममा पार्नु थियो । पछि मानिसहरूले जाल थापेर ती गाई समाते । कतिपय भागेर अर्को जङ्गलतिर लागे । पारिस्थितिक प्रणालीमा हरेक प्राणीले आफ्नो रक्षा आफै गर्छ, अस्तित्व जोगाउँछ । जसरी हरिणहरूले जोगाएको देखिन्छ । यी उपायहरू अपनाउँदा गाईहरू दिनहुँ मर्नबाट जोगिनेछन् । 

सबैलाई विदित छ कुकुरको हत्या गर्नु कानुनी अपराध हो, मार्न पाइँदैन । पहिले पहिले गाउँघरमा शौचालय बनाउने चलन थिएन । खाली खेत, सार्वजनिक चउर र वन जङ्गल साझा शौचालय थिए । कुकुरको जति सङ्ख्या भए पनि त्यही फोहर मैला खाएर बाँच्थे । अहिले सबैको घरमा शौचालय छ । त्यसले कुकुरहरूको आहारा खोसिदिएको छ । बुभुक्षितः किं न करोति पापम् अर्थात् भोकोले के पाप गर्दैन र ? उनीहरूले आत्मरक्षाको निम्ति गाउँलेका बाख्रा, कुखुरा, हाँस आदि खाइदिने गरेका छन् । कुकुर धेरै बच्चा जन्माउने जनावरमा पर्छ । एकातिर मार्न नपाइने हुनाले बर्सेनि उनीहरूको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ भने अर्कोतिर उनीहरूलाई रेबिज प्रतिरोध खोप लगाउने व्यवस्था नभएकोले बौलाहा कुकुरले टोकेर बर्सेनि धेरै गाई भैँसी मरेका घटना यत्रतत्र सुन्न पाइन्छ । रेबिजको कारणले मानिसहरू पनि हताहत भइरहेका छन् ।

भुस्याहा कुकुरबाट बच्न:

  • १.पालिकाले अनिवार्य रूपमा सबै कुकुरहरूलाई रेबिज विरुद्धको खोप दिने व्यवस्था गर्ने, 
  • २. वयस्क हुनु पूर्व नै भाले छाउरालाई सुमर्ने (castration) गर्ने । 

काठमाडौँ, भरतपुर, नेपागन्ज जस्ता पालिकाहरूले यो विधि अपनाएर भुस्याहा कुकुर न्यूनीकरण गरेको सुनिएको हो । यसको प्रभावकारिता तथा निरन्तरता के छ ? यस कार्यलाई निरन्तरता दिन आवश्यक छ । 

यहाँ उल्लेख गरिएका कुनै नौलो विषय होइन । देख्दा साना साना लाग्ने तर तिनीहरूले समाजमा निकै अप्ठ्यारो पारिरहेका हुन्छन् । यस्ता साना मसिना कुराहरूको सुधारले समाजमा राम्रो प्रभाव पर्छ । विद्यालय, सडक, पुल, पानी, आर्थिक वृद्धि आदि ठुला विषयका काममा सबैको ध्यान जाने, जनतालाई सास्ती दिइरहेका स–साना विषयमा ध्यान नपुग्दा यी कामहरू गर्न बाँकी छन् । यसतर्फ यहाँहरूको अवश्य ध्यान अवश्य जाने छ । तपाईँहरूको ध्यान गइदिए राम्रो हुन्थ्यो । 

(लेखक पूर्वीय वाङ्मयका ज्ञाता र अभियन्ता हुनुहुन्छ ।)

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ९ : ०२ बजे