इम्बोस्ड नम्बरप्लेटमा अनियमितता भएको भन्दै युवा संघले गर्यो अख्तियारमा उजुरी  

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले सरकारले आर्थिक चलखेलमा  इम्बोस्ड नम्बर प्लेट जबरजस्ती लाद्न खोजेको भन्दै अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा उजुरी दर्ता गराएको छ ।  

नेकपा एमालेनिकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल नेतृत्वकोे टोलीले बुधबार टंगालस्थित अख्तियार कार्यालय पुगेर इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितता छानबिनको माग राख्दै उजुरी गरेको हो । 

युवा संघले सरकारले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर प्लेटको ठेक्का दिनु, एक महिनाभित्रै इम्बोस्ड नम्बर राख्न दबाब दिनु र  नम्बर प्लेटमा पनि देवनागरी लिपी नराख्नु अनियमितताको प्रमाण भएको आरोप लगाएको छ ।  

इम्बोस्ड नम्बर राख्ने सेटिङको चलखेलमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजुका भाइ भूषण राणाको  चलखेल भइरहेको आरोप लगाएको छ  ।

 इम्बोस्ड नम्बर प्लेट सम्बन्धी काम गर्ने विदेशी कम्पनीको नेपाली एजेन्ट नै भूषण राणा रहेको भन्दै युवासंघले सत्य तथ्य बाहिर ल्याउन माग गरिरहेको छ । 

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  २ : ३४ बजे