‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

समृद्ध नेपाल निर्माणको अभिभारा कसले पूरा गर्छ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ सबै नेपालीको साझा चाहना हो । यो अभिभारा कसले र कसरी पूरा गर्लान् ? यस बारेमा केही सम्भावनाको चर्चा गरौँ । यो अभिभारा राजनीतिक दलले लिनु पर्छ, किन कि नेपालमा बहुदलीय व्यवस्था छ । यसलाई नेपालको संविधान–२०७२ ले सुनिश्चित गरेको छ अर्थात् नेपालको समृद्धिको अभिभारा राजनीतिक दलले पूरा गर्नुपर्छ । राजनीतिक दल नै त्यस्तो शक्ति हो, जसले जनताको बहुमत लिएर मुलुकको शासन सञ्चालन गर्ने गर्छन् । 

नेपालमा भएका राजनीतिक शक्ति भन्नु नै राजनीतिक दलहरू हुन् । यिनीहरूमा नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी, लोकतान्त्रिक समाजवादी आदि मुख्य हुन् । यीमध्ये पनि नेकपा एमाले र नेपाली काङ्ग्रेस दुई ठुला दल हुन् । नेकपा माओवादी तेस्रो ठुलो दल हो । 

नेपालमा राजनीतिक आन्दोलन अन्त्य भएर अब आर्थिक र सामाजिक आन्दोलन बाँकी छ । सामाजिक न्याय विनाको आर्थिक समृद्धि मात्रै भए त्यो दिगो र सबैका लागि हुँदैन । त्यसैले, आर्थिक आन्दोलन र सामाजिक आन्दोलन सँगसँगै अगाडि बढ्नु पर्छ, अर्थात् सामाजिक न्यायका आधारमा आर्थिक विकास अबको कार्यभार हो र यो कार्यभार पूरा गर्ने जिम्मा राजनीतिक दलहरूको हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान भनेको सामाजिक न्याय सहितको आर्थिक विकासको अभियान हो । 

बहुदलीय व्यवस्थामा राजनीतिक दलहरू एक अर्काका प्रतिस्पर्धी हुन् । राजनीतिक दलहरूको गठन विचार र सिद्धान्तका आधारमा हुन्छ । यी त्यस्ता विचार हुन्, जसले मुलुकको हित र आर्थिक एवं सामाजिक उन्नतिको बाटो तय गर्छन् । 

नेपालमा गठन भएका राजनीतिक दलहरू मूलतः दुई वटा विचारधाराबाट प्रेरित छन्, एक कम्युनिष्ट विचारधारा जो मुलुकको वामपन्थी शक्तिको रूपमा परिचित छ र अर्को लोकतान्त्रिक समाजवादको पक्षधर, जुन दक्षिणपन्थी शक्तिको रूपमा परिचित छन् । 

नेपालका सबै कम्युनिष्ट पार्टीहरूले बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरेर लोकतान्त्रिक कम्युनिष्टको रूपमा आफूmलाई स्थापित गरेका छन् । लोकतान्त्रिक समाजवादको पक्षधर भनिने नेपाली काङ्ग्रेस मूलतः पुँजीवादी लोकतान्त्रिक पार्टीको रूपमा परिचित छ । संविधान निर्माणको क्रममा मूलतः यी दुई शक्तिले समाजवाद उन्मुख राज्य व्यवस्था भन्न रुचाए र सहमति गरे । समाजवादको व्याख्या दुवैले प्रष्ट पारेका छैनन् । यस विषयमा आ–आफ्नो अनुकूलको व्याख्या गर्ने गर्ने गरिएको पाइन्छ । 

सिद्धान्तलाई व्यवहारले पछ्याएन भने त्यसले घोषित गन्तव्यलाई भेट्टाउँदैन । समाजवादको गन्तव्यमा पुँजीवादी व्यवहारले पुर्‍याउँदैन भन्ने नेपाली काङ्ग्रेसलाई पनि थाहा छ, तर पनि उसले समाजवाद भन्न छाडेको छैन । यो उसको बाध्यता पनि होला । अर्कोतिर, नेपालका वामपन्थी अर्थात् कम्युनिष्ट शक्तिहरू एक ठाउँमा उभिँदा नेपाली काङ्ग्रेस खुम्चिनु स्वाभाविक थियो । गएको २०७४ सालको चुनावले यसलाई पुष्टि गरेको थियो । संसद्को १६५ सिटको प्रत्यक्ष निर्वाचनमा नेपाली काङ्ग्रेस जम्मा २३ सिटमा खुम्चिन पुग्यो । त्यो निर्वाचनले नेपाली जनताको समाजवाद तर्पmको यात्रा अर्थात् ‘समृद्ध नेपाल, सुखी नेपाली’को चाहना पूरा गर्ने बाटोलाई छोट्याउने आशा जगाएको थियो । केपी ओलीको नेतृत्वमा बनेको त्यो सरकारले जनतामा व्याप्त निराशाका बादल हटाएर उज्यालो किरणको प्रवाह सुरु गरेको थियो । नागरिकका मन मनमा राष्ट्रिय स्वाभिमान जागेको थियो । 

सामाजिक न्याय सहितको आर्थिक समृद्धिको उकालो चढ्दै गरेको अवस्थामा तत्कालीन नेकपामा व्यक्तिगत स्वार्थले प्रेरित भएर प्रचण्ड, माधव नेपाल र झलनाथ खनालहरू एक भएर पार्टी भित्रको शक्ति सन्तुलन आफ्नो अनुकूल बनाएर कमरेड केपी ओलीको नेतृत्व (पार्टी र सरकार दुवै तिरबाट) हत्याउने, महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई कपोलकल्पित मिथ्या आरोप लगाएर पार्टीको साधारण सदस्यसम्म नरहने गरी निष्कासन गर्ने सम्मको प्रपञ्च रचियो र हटाएको घोषणा गरियो । परिणाम स्वरूप कम्युनिष्ट पार्टीको सरकार गिराएर २३ सिट जितेको नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बनाउने उद्यम गरियो । 

यसका लागि पाँच दलीय गठबन्धन बनाइयो र यसको नेता नेपाली काङ्ग्रेसका शेरबहादुर देउवालाई बनाइयो । यस गठबन्धनको उद्देश्य र उद्यम सरकार बनाउनेसम्म मात्रै सीमित भएन र छैन । यसको घोषित गन्तव्य केपी ओलीको नेतृत्वमा भएको नेकपा एमालेलाई सिद्ध्याउने थियो र छ । केपी ओली र एमालेलाई सिद्ध्याउने अभियानको नेतृत्व प्रचण्ड र माधव नेपालले गरेका थिए । तर, माधव नेपाल र झलनाथ खनालले नेतृत्व गरेको अवैध गर्भाधानबाट जन्मिएको एकीकृत समाजवादी पार्टीको अस्तित्व नै सङ्कटमा परेको छ । नेपाली काङ्ग्रेस र माओवादीको बुई चढे पनि तिनको विनाशलाई कसैले रोक्न सकेन । गएको वैशाख ३० गते भएको स्थानीय चुनावले यसको पुष्टि गरिदियो । 

नेकपा माओवादी र नेपाली काङ्ग्रेस एक अर्काको सहयोगले जोगिएका छन् । नेपाली काङ्ग्रेसको आड लागे पनि नेकपा माओवादीले विगतको तुलनामा आफ्नो लोकप्रिय मत गुमाएको छ । यद्यपि, सिट केही बढाएको छ । नेपाली काङ्ग्रेस सबैभन्दा ठुलो पार्टी त भयो तर एक्लै एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा खुम्चिन पुग्यो । माओवादीको हालत त कस्तो भयो भने अब ऊ एक्लै केही गर्नै सक्दैन । उसले कसै न कसैको सहयोग लिएर मात्रै आफ्नो अस्तित्व रक्षा गर्न सक्छ भन्ने पुष्टि भएको छ । माओवादीले आफ्नो औकातको आङ्कलन गरेर नै नेपाली काङ्ग्रेससँग घुर्की र धम्कीका दुवै अस्त्र प्रयोग गरेर सत्ताको साँचो आफ्नो हातमा लिने दाउमा देखिएको र त्यसैका लागि कसरत गरिरहेको छ । 

नेकपा एमालेलाई साइजमा राख्न यतिखेर नेपाली काङ्ग्रेसले माओवादीलाई साथमा लिएको छ । उसलाई फाइदा पनि भएको छ । नेकपा एमालेलाई यसले केही घाटा भएकै छ । तर, नेकपा माओवादीसँगको सहकार्यको मूल्य नेपाली काङ्ग्रेसले निकै लामो समयसम्म चुकाउनु पर्ने छ । यसको भर्पाई पूरा गर्न सक्छ कि सक्दैन त्यो भविष्यले मूल्याङ्कन गर्ला । 

गएको स्थानीय निर्वाचनमा नेपाली राजनीतिमा केही उल्का र केही झिल्का नदेखिएका होइनन् । केहीलाई लागेको थियो राजावादी शक्तिले ठुलै उपलब्धि हासिल गर्छ, तर त्यो देखिएन । सम्भव पनि छैन । काठमाडौँ र धरान जस्ता सहरमा पार्टीसँग सरोकार नै नभएका स्वतन्त्रहरूले जिते । 

राप्रपा उल्का हो । उल्का भनेको अकासबाट कहिलेकाहीँ ज्योतिपुञ्ज धर्तीमा आएको देखिन्छ । केही समय त्यसले उज्यालो पनि पार्छ तर धर्तीमा आउँदा नआउँदै त्यो बिलाएर जान्छ । झिल्काहरू अगेनोमा मुढा ठोस्दा निस्कन्छन् । न्यानो पार्नका लागि ठुला मुढाहरू बालेर छाडिन्छ । धेरै समय भएपछि तिनले बल्नेभन्दा धुवाँउने बढी गर्छन् । त्यो ठोसेर काम नलाग्ने कोइला र खरानी झारेर पुनः बल्ने अवस्थामा पुर्‍याउने गरिन्छ । त्यसो गर्दा केही बाक्लै झिल्का निस्कन्छन् । ती झिल्काले नजिकैमा कुनै जलनशील वस्तु भेट्टाए भने डढेलो पनि लगाउन सक्छन् । नभए केही बेरमा सबै खरानी भएर सकिन्छन् । फेरि मुढाले नै न्यानो दिन थाल्छन् । बालेन र हर्क साम्पाङहरूलाई सम्मान गर्दै न्यानो दिन बालिएका मुढाले आफूmलाई सुधार्नु पर्छ, होइन भने के हुन्छ भन्न सकिँदैन । हुन त यस्ता झिल्का विगतमा रवीन्द्र मिश्र, रञ्जु दर्शनाहरूका नाममा पनि देखिएकै हो । केही समयका लागि आकर्षक भए पनि धेरै टिक्दैनन् भन्ने डाक्टर बाबुरामहरूको वैकल्पिक शक्ति बन्ने उद्घोषले पनि पुष्टि गरेको छ । भविष्यमा पनि यस्ता उल्का र झिल्का देखिनेछन् । 

देशलाई समृद्धिका मार्गमा हिँडाउन सशक्त पार्टीको नेतृत्व आवश्यकता पर्छ । बहुदलीय व्यवस्थामा पार्टीको नेतृत्वविना कसैले चमत्कार गरेर देशलाई समृद्ध बनाउने सपना कोरा कल्पना मात्रै हो । त्यो सम्भव हुँदैन । भएका पार्टीमध्ये जतिसुकै आलोचित भए पनि नेकपा एमाले र नेपाली काङ्ग्रेसले मात्रै वर्तमान नेपालको नेतृत्व गर्ने हैसियत राख्छन् भन्ने प्रष्ट छ । 

नेपाली काङ्ग्रेस एक्लै नेतृत्व गर्न नसक्ने हैसियतमा खुम्चिएको कारण माओवादीको बैसाखीमा उभिन थालेको छ । त्यहाँ न सिद्धान्त मिल्छ, न व्यवहार । यो घिउ बेच्ने र तरबार बेच्नेको कथा जस्तो हो । कुन बिन्दुमा पुगेर के हुन्छ भन्न सकिँदैन । बरु राम्रो हुन्छ नेपाली काङ्ग्रेस एक्लै आफ्नो जनमत निर्माण गरोस् र त्यसको बलमा देशको नेतृत्व उसले लिओस् । तर यो सम्भावना अहिलेलाई टरेको छ । आगामी निर्वाचनमा पनि गठबन्धन गरेर नै जाने भनिँदै छ । यो उनीहरूको हीनताबोधबाट उब्जिएको आवश्यकता हो । 

गठबन्धनले तालमेल गरेर चुनाव लड्दा केही सिट सङ्ख्या बढाउला, नेकपा एमालेलाई केही क्षति होला । तर, त्यो शक्तिले समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्न सक्दैन, किन कि त्यहाँ स्वार्थको गठजोड मात्रै भएकाले किचलो निरन्तर चलिरहने छ अर्थात् जहाँ माओवादी र प्रचण्ड हुन्छन्, त्यहाँ निरन्तर किचलो र स्वार्थको टकराब रहिरहने छ । यो विगतदेखि वर्तमान सम्मको सत्य इतिहास हो ।

प्रचण्डले राजनीतिमा प्रयोग गरेको अभ्यास भनेको नितान्त तत्कालको फाइदालाई केन्द्रमा राखेर गरेको देखिन्छ । नेकपा बन्नु अगाडिको तत्कालीन माओवादीमा ३९ सय जनाको केन्द्रीय कमिटी थियो । त्यो विघटनको सङ्घारमा थियो । दरिलो पार्टी बनाउनभन्दा एमालेसँग जोडिएर विघटनबाट जोगाए । अदालतको निर्णयपछि अलग भएको नेकपा माओवादीले संविधानको मान राख्न महाअधिवेशन त गर्‍यो तर अध्यक्ष बाहेकका पदाधिकारीको चयन गर्न सकेको छैन । सधैँ तत्कालको फाइदा, तदर्थवाद र आफू एवं आफ्नो परिवारवादमा अल्झिएको प्रचण्ड पथले राजनीतिमा अस्थिरता मात्रै बढाइरहेको छ । यदि आगामी संसदीय निर्वाचनबाट सत्ताको साँचो माओवादीको हातमा जाने हो भने मुलुकले अरू पाँच वर्ष खेर फाल्ने पक्का छ । यसको मुख्य दोषी नेपाली काङ्ग्रेस हुनेछ । 

समृद्ध नेपाल, सुखी नेपालीको अभिभारा केपी ओलीको नेतृत्वमा नेकपा एमालेले मात्रै पूरा गर्न सक्छ भन्ने थप प्रष्ट हुँदै गएको छ । यो चुरो कुरो बुझेका नेकपा एमाले विरोधी देशभित्र र बाहिरका शक्तिहरू न्वारानदेखिको बल लगाएर केपी ओली र एमालेका विरुद्धमा भ्रम सिर्जना गर्न र कु प्रचार गर्न तल्लीन छन् । दुनियाँमा कुनै पनि देश सशक्त नेतृत्व, सशक्त पार्टीविना समृद्ध बनेका छैनन् । त्यस्तो नेतृत्व र त्यस्तो पार्टीले आन्तरिक र बाह्य विरोधको डटेर सामना गर्नु परेको इतिहास खोज्न टाढा जानु पर्दैन । बिपी कोइराला, पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, जिपी कोइराला सबै यसका उदाहरण हुन् । राणा शासन अन्त्यदेखि गणतन्त्र स्थापना सम्मको राजनीतिक यात्रा यिनै नेताहरूको अगुवाइमा भएको हो । अब समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पूरा गर्नुछ ।

के हामी हाम्रै पालामा समृद्ध नेपाल सुखी नेपाली भएको हेर्न चाहन्छौँ ? त्यसका लागि मैले सकेको योगदान गर्छु भनेर सङ्कल्प गर्न तयार छौँ ? त्यसो हो भने झिल्का र उल्काको पछि लागेर वा झिल्का एवं उल्का बनेर मनोरञ्जन त होला तर न्यानो प्राप्त हुने छैन । त्यसैले मुढा ठोसौँ, दृढ सङ्कल्प गरौँ, भ्रमको खेती गर्नेहरूलाई चिनौँ । समय खेर नफालीकन आगामी दिनमा दुई दललाई बलियो बनाउने तिर लागौँ । सत्ताको साँचो बोकेर रइफाँडो मच्चाउँदै स्वार्थमा मात्र लतपतिनेलाई परास्त गरौँ ।  

 

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  १० : २१ बजे