आज वर्षाको सम्भावना

इम्बोस्ड नम्बर प्लेटमा चार अर्ब घोटाला हुनसक्ने भीम रावलको दाबी

काठमाडौं – नेकपा एमालेका सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेटमार्फत चार अर्ब रुपैयाँसम्म घोटाला हुनसक्ने आशंका व्यक्त गर्नु भएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले इम्बोस्ड नम्बर प्लेटमा तीन देखि चार अर्ब घोटाला हुनसक्ने आशंका व्यक्त गर्नु भएको हो ।

उहाँले भन्नुभयो, ‘अहिले हाम्रो देशमा जुन यो गाडीमा नम्बर प्लेट राख्ने कुरा छ । के नेपाल सरकारले जति बेला ठेक्का लगाइयो त्यो ठेक्का लगाउँदा त्यो ठेकेदार नै कालोसूचीमा, विश्व बैँकले कालोसूचीमा राखेको कम्पनी छ। त्यो बेला र अहिलेको त्यो रकम हेरौँ झन्डै त्यसमा तीन, चार अर्ब रुपैयाँको त त्यसमा घोटाला हुने जस्तो देखिन्छ।’

संविधान अनुरुप सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने भए पनि सो मर्म बमोजिम नभई इम्बोस्ड नम्बर अंग्रेजी भाषामा गरिएको प्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

‘हाम्रो संविधानको धारा ७ बमोजिम देवनागरी लिपीमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुने भन्या त्यो त सरकारले निर्णय गर्दा नेपाली भाषाको प्रयोग गर्नुपर्ने होइन र ?’ उहाँले प्रश्न गर्नुभयो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  १० : १० बजे