राहत कोषका लागि राष्ट्रसङ्घको आह्वान, धैर्य गर्न प्रधानमन्त्रीको अनुरोध

कोलम्बो। चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कालाई खाद्य, कृषि र स्वास्थ्य क्षेत्रमा सहयोग गर्न संयुक्त राष्ट्रसङ्घले विश्वव्यापी आह्वान गरिरहँदा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले उक्त विश्व संस्थाले चार करोड ८० लाख अमेरिकी डलर सहयोग गर्ने जानकारी दिँदै धैर्य गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन् । 

संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिङ्घेले चार महिनाको अवधिमा संयुक्त राष्ट्रसङ्घले उक्त सहायता उपलब्ध गराउने योजना रहेको बताएका हुन् । आगामी तीन हप्ताका लागि केही अत्यावश्यक वस्तुहरू प्राप्त गर्न कठिन हुने बताउँदै उनले सबैलाई एकताबद्ध र धैर्यवान हुन, दुर्लभ आपूर्तिलाई सकेसम्म सावधानीपूर्वक प्रयोग गर्न र अनावश्यक यात्रा नगर्न आग्रह गरे । बिना अवरोध इन्धन, खाद्यान्न र अन्य स्वास्थ्य सामग्रीको आपूर्ति सुनिश्चित गर्न विभिन्न पक्षहरूसँग वार्ता भइरहेको उनले संसद्लाई बताए । 

लगभग टाटपल्टिएको श्रीलङ्का खाद्यान्न, औषधि, इन्धन र खाना पकाउने ग्यासलगायतका अत्यावश्यक वस्तुको गम्भीर अभाव भएको छ । सन् २०२६ सम्ममा तिनुपर्ने २५ अर्ब डलरको वैदेशिक ऋणमध्ये यो वर्ष ७ अर्ब डलर चुक्ता गर्ने छ । श्रीलङ्काको कुल विदेशी ऋण ५१ अर्ब डलर छ ।
 

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ४ : ४५ बजे