आज वर्षाको सम्भावना

बर्दिया घटनामा गोली चलाउने आदेश थिएन : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले  बर्दिया घटनामा गोली चलाउन आदेश नदिएका बताउनुभएको छ । बर्दियाको मधुवन–२ मा सोमबार प्रहरीको गोली प्रहारबाट एक युवतीको मृत्यु भएको थियो ।

सोही विषयमा प्रतिनिधसभाको मंगलबारको बैठकमा गृहमन्त्री खाँणले नागरिकले गर्ने अवरोध तथा भीडमा गोली चलाउने सरकारको आदेश नभएको बताउनुभएको हो । प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नदिएको उहाँले बताउनुभयो ।  ‘नागरिकहरूको यस्तो अवरोध, भीडमा गोली चलाउने आदेश छँदै छैन । म यो रोस्ट्रमबाट भन्न चाहन्छु नेपाल सरकार गृह मन्त्रालयको निर्देशन सम्झाइबुझाइ गर्ने, बरु सर्वपक्षीय सर्वदलीय बैठक गरेर समस्या समाधान गर्ने र कमभन्दा कम शक्ति प्रयोग गर्ने भन्ने हो । गोली प्रहार गर्ने त आदेशै छैन ।’

बर्दियाको मधुवन क्षेत्रमा बाघको आक्रमणबाट निरन्तर मानवीय क्षति भएको तर सरकार वन्यजन्तु पीडितप्रति उदासीन भएको भन्दै स्थानीयहरुले प्रदर्शन गरेका थिए । सोही प्रदर्शनमा प्रहरीले गोली प्रहार गर्दा एक जना २० वर्षीया युवतीको ज्यान गएको थियो । सुरक्षाकर्मीको गोली प्रहारबाट स्थानीय नविना थारूको मृत्यु भएको थियो । सोही घटनाको विषयमा संसद्‌मा गृहमन्त्रीले प्रस्टीकरण दिनुभएको हो । 

गृहमन्त्री खाँणले वन्यजस्तु आक्रमणबाट मानिसलाई जोगाउनका लागि दीर्घकालीन नीति तय गरी काम गरिने बताउनुभयो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  २ : १६ बजे