‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने नछुट्याएको फोहोर नउठाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने नछुट्याएको फोहोर नउठाउने भएको छ । 

महानगरपालिकाका मेयर बालेन्द्र साहले उक्त जानकारी दिनुभएको हो । “नछुट्याएको फोहोर महानगरले सङ्कलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर सङ्कलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ” मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ। 

महानगरले पहिलेका कमजोरी वा गल्तीहरू नदोहोर्‍याउने प्रतिबद्धता उहाँले जनाउनुभएको छ । फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोसिस गर्ने दाबी उहाँको छ । 

“हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईँले छुट्याइसकेको फोहोरलाई महानगरले पुनः एक ठाउँमा मिसाउने गल्ती गर्ने छैन भने तपाईँले छुट्याएर सङ्कलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफूले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउने छैन”, उहाँले भन्नुभयो । 

अब फोहोर उठ्ने र यो सबैको लागि खुसीको खबर भएको मेयर शाहले बताउनुभयो । उहाँले अगाडि लेख्नुभएको छ, “अहिलेसम्म फोहोर थुप्रिएर पाउनुभएको दुःखका लागि क्षमा प्रार्थी छौँ । साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुःख दिँदा र अप्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ ।”

फोहोर उठ्नु मात्रै समाधान नभएको भनाई उहाँको छ । महानगरको फोहरको समस्याको दीर्घकालीन समाधानको लागि अझै धेरै गर्न बाँकी रहेको उहाँले जनाउनुभएको छ । “‘हामी फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्याँकेर वा थुपारेर हुँदैन” मेयर शाहले भन्नुभएको छ । 

महानगरवासीको साथबिना समस्याको समाधान निकाल्न सम्भव नहुने उहाँले बताउनुभएको छ  । “अब तपाईँको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तीमा दुई किसिमका फोहोरहरू छुट्टिएर निस्किउन् ।” उहाँले आग्रह गर्नुभएको छ । 

कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन गर्न सहज हुने उहाँको दाबी । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो महानगरवासी स्वच्छ र स्वस्थ काठमाडौँ बाँच्न पाउने उहाँले बताउनुभएको छ  । यस्तो गर्दा महानगरवासीको कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पनि नपर्ने उहाँले जनाउनुभएको छ ।  

“अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौँ, तपाईँहरूले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तीमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पुरा गरिदिनु हुनेछ”, उहाँले सबै महानगरवासीसँग अनुरोध गर्नुभएको छ । 

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ११ : ५७ बजे