आज वर्षाको सम्भावना

जिल्ला समन्वय समिति बाँकेको निर्वाचन जेठ २७ गते हुने

नेपालगञ्ज । जिल्ला समन्वय समिति बाँकेको निर्वाचन यही जेठ २७ गते हुने भएको छ । 

यसका लागि मतदाता नामावली प्रकाशनलगायतका काम भइरहेको छ । सो दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म शिक्षा विकास तथा समन्वय एकाइस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदान हुने कार्य तालिका रहेको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिनुभयो । 

जेठ २५ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बाँकेमा आठ पालिकाका १६ प्रमुख र उपप्रमुख मतदाता छन् ।

जिल्ला समन्वय समितिमा नेपाली काँग्रेसको एकल बहुमत छ । काँग्रेसका १२ मतदाता छन् । स्थानीय चुनाव र कार्यपालिका चुनावमा दुवैमा गठबन्धन गरेको काँग्रेसले जिल्ला समन्वय समितिमा के गर्छ भन्ने टुङ्गो अझै लागेको छैन । 

समितिमा प्रमुख र उपप्रमुखसहित नौ सदस्य निर्वाचित हुनेछन् । समितिमा तीन सदस्य महिला अनिवार्य हुने व्यवस्था छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यसमेत जिल्ला समन्वय समितिमा उम्मेदवार हुन पाउँछन् ।

जिल्ला समन्वय समिति गठन भएपछि जिल्ला सभा गठन हुनेछ । जिल्ला सभाको प्रमुख र उपप्रमुखमा जिल्ला समन्वय समितिकै प्रमुख र उपप्रमुख हुन्छन् भने गाउँपालिका र नगरका प्रमुख उपप्रमुख पदेन सदस्य हुन्छन् ।रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ९ : ४० बजे