हनुमान ढोकाको दसैँघरमा फूलपाती

सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ । संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा आज उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटमा सभामुख सापकोटाले नेपाल र डेनमार्कबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्षमा दुई देशबीचको सम्बन्ध सुमधुर रहेको स्मरण गर्नुभएको थियो । सापकोटाले शिक्षा, उर्जा, सुशासन र विकेन्द्रीकरणको क्षेत्रमा डेनमार्कले गरेको सहयोगका लागि डेनिस सरकार र जनतालाई धन्यवाद ज्ञापन गर्नुभयो । 

सभामुख सापकोटाले डेनमार्क सुशासनका लागि चर्चित र स्थापित रहेको चर्चा गर्दै यसबाट नेपालले पनि सिक्न चाहेको बताउनुभयो। नेपालका राजनीतिक दलसँग सहकार्य गर्ने प्रतिनिधिमण्डलको प्रस्ताव सकारात्मक रहेको बताउँदै सभामुख सापकोटाले दुई देशबीच जनताको तहसम्म सम्बन्ध विस्तार गर्नु पर्नेमा जोड दिनुभयो । 

उहाँले सुशासन, जलवायु परिवर्तन, व्यापार र पर्यटनका क्षेत्रमा सककार्यको सम्भावना औंल्याउँदै नेपालको विकासमा डेनमार्कको सहयोग रहने विश्वास व्यक्त गर्नुभएको थियो ।  

भेटमा प्रतिनिधिमण्डलका प्रमुख ‘डेनिस इस्टिच्युट फर पार्टीज एण्ड डेमोक्रेसी’ डीआईपीडीकी कार्यकारी निर्देशक लिस्बेथ पिलगार्डले आफ्नो टिमसँग छलफलको समयका लागि आभार व्यक्त गर्नुभयो । उहाँले डेनमार्कको संसदको संस्था डीपीआईडीले लोकतन्त्र र राजनीतिक दलहरुसँग सहकार्य गर्दै आएको बताउनुभयो । 

डीआईपीडी नेपालका राजनीतिक दलहरुसँग सहकार्य गर्न चाहेको बताउँदै पिलगार्डले जलवायु परिवर्तनको विषयमा सहकार्यका लागि छलफल गर्ने जानकारी दिनुभयो। समुन्द्रले घेरिएको देश डेनमार्कका नागरिक हिमालले घेरिएको नेपाल घुम्ने चाहना राख्ने गरेको उहाँको भनाइ थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ६ : ०० बजे