नाइजेरियामा बन्दुकधारीले चर्चमा गोली चलाउँदा ५० जनाको मृत्यु

कानो । नाइजेरियाली सरकारले आइतबार देशको दक्षिणपश्चिमी भागमा रहेको क्याथोलिक चर्चमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ५० जनाको ज्यान गएको जनाएको छ । ओन्डो राज्यका प्रहरी प्रवक्ता फनमिलायो इबुकुन ओदुन्लामीका अनुसार बन्दुकधारीहरूले विस्फोटक पदार्थसमेत बोकेका थिए । आक्रमणको कारणबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

घटनालाई ‘ठूलो नरसंहार’ भन्दै ओन्डो राज्यका गभर्नर अरकुन्रिन ओलुवारोतिमी अकेरेडोलुले घटनास्थल र घाइतेहरूको अस्पतालमा निरीक्षण गर्नुभएको छ । 

नाइजेरियामा क्याथोलिक चर्चका प्रवक्ता रेभेरेन्ड अगस्टिन इक्वुले भन्नुभयो, ‘यो धेरै दुखको कुरा हो कि पवित्र प्रार्थना चलिरहेको बेला अज्ञात बन्दुकधारीहरूले सेन्ट फ्रान्सिस क्याथोलिक चर्चमा आक्रमण गरे । आक्रमणमा धेरै जनाको मृत्यु र अन्य धेरै जना घाइते भएका छन् । ’

पेन्टेकोस्टको इसाई चाडमा भएको आक्रमणको पोप फ्रान्सिसले निन्दा गर्नुचएको छ । उहाँले पीडित र नाइजेरियाका लागि प्रार्थना गर्ने बताउनुभएको छ । 

राष्ट्रपति मुहम्मदु बुहारीले पीडितले न्याय पाउने बताउनुभएको छ । नाइजेरिया जिहादीहरू र आपराधिक गिरोहले लामो समयदेखि हिंसात्मक आक्रमण गर्दै आएका छन् । 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  २ : ४४ बजे