भारतको उत्तराखण्डमा तीर्थयात्री बोकेको बस खाल्डोमा खस्दा २५ जनाको मृत्यु

उत्तराखण्ड । भारतको उत्तराखण्डमा आइतबार राति तीर्थयात्री बोकेको एउटा बस खाल्डोमा खस्दा २५ जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । 

२८ यात्रु बोकेको बस पहाडी राज्यको मुख्य तीर्थस्थल यमुनोत्री जाँदै थियो । सबै तीर्थयात्री मध्य प्रदेशका हुन् । 

प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ‘आफ्ना प्रियजनहरू गुमाउनेहरू’ प्रति शोक व्यक्त गर्नुभएको छ ।  प्रधानमन्त्री मोदीले उत्तराखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई दुई लाख भारु र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा पनि गर्नुभएको छ ।

“राज्य सरकारको निगरानीमा स्थानीय प्रशासन घटनास्थलमा सम्भव भए सम्मको सहयोगमा जुटेको छ”  प्रधानमन्त्री कार्यालयले ट्विट गरेको छ ।

दुर्घटनापछि मुख्यमन्त्री शिवराज सिंह चौहानसहित राज्यमन्त्री बिजेन्द्र प्रताप सिंह, डीजीपी सुधीर सक्सेना, अतिरिक्त मुख्य सचिव (गृह) राजेश राजोरा लगायतको टोली देहरादून प्रस्थान गरेको थियो । 

दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरेको छ । एजेन्सी

 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  १० : ४९ बजे