संसद्मा आजदेखि बजेटबारे मन्त्रालयगत छलफल हुँदै 

काठमाडौँ । प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटमा मन्त्रालयगत छलफल हुँदै छ । 

आज बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ । बजेट बारेको सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुने भएको हो । 

संसद् सचिवालयका अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, सहरी विकाससँगै भूमि, व्यवस्था र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची छ । 

सचिवालयले मन्त्रालयगत छलफलपछि विभागीय मन्त्रीहरूलाई जवाफ दिन दुई दिनको समय उपलब्ध गराउने भएको छ ।  जवाफ दिने दिन यही २६ र २७ जेठ तोकिएको छ । मन्त्रीहरूको जवाफपछि बजेट पारित हुने छ ।

अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ मा संसद्मा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गर्नुभएको थियो । 

 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ९ : १४ बजे