दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेकोस काठमाडौँ मेट्रो फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि सिलवाललाई

​​​​​​​काठमाडौँ । नेपाल खेलकुद महासङ्घ (नेकोस) र साउथ वेस्टर्न स्टेट कलेजको संयुक्त आयोजनामा आइतबार सम्पन्न नेकोस काठमाडौँ मेट्रो फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि काठमाडौँका पुरुषोत्तम सिलवालले जितेका छन् । 

प्रतियोगितामा सहभागी ७१ जना प्रतिस्पर्धीलाई उछिन्दै दुई दिने प्रतियोगितामा शत प्रतिशत नतिजा हासिल गर्न सफल भएका सिलवालले ७ खेलबाट ७ अङ्क बनाउँदै ७ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

काठमाडौँका कुशल बेलबासे र तिलिङ्टार माविका पूर्णिमा गुरुङ समान ६ अङ्कका साथ दोस्रो तथा तेस्रो स्थान हासिल गर्दै क्रमशः ५ हजार तथा ४ हजार नगद प्राप्त गरे । 

त्यसैगरी,  बर्दियाका निशान्त श्रेष्ठ ५ दशमलव ५ अङ्कका साथ चौथो स्थानमा रहँदै ३ हजार नगद हासिल गरे भने ७ खेलबाट ५ अङ्क बनाएका कपिल घिमिरे पाँचौँ हुँदै नगद २ हजार प्राप्त गर्न सफल रहे ।

काठमाडौँकी मार्सल तामाङ ७ खेलबाट ५ अङ्क बनाउँदै महिलातर्फ उत्कृष्ट घोषित भइन । त्यसैगरी झापाकी पुनम प्रसाईँ ४ अङ्कका साथ दोस्रो, युनिशा सुवेदी तेस्रो, सिवानी रिजाल चौथो तथा सबनम रिजाल पाँचौँ स्थानमा रहन सफल भए ।

समान ५ अङ्क बनाएका अभिक शाह तथा अविन पाण्डे १४ वर्षसम्मको उमेर समूहमा क्रमशः पहिलो तथा दोस्रो स्थानमा रहन सफल भए । 

त्यस्तै, समान ४ दशमलव अङ्क जोडेका आश्चर्य चौधरी तथा सागर सुप्रभ श्रेष्ठ तेस्रो तथा चौथो स्थानमा रहे भने आलोक चौधरी ४ अङ्कका साथ पाँचौँ भए ।

१० वर्ष सम्मको उमेर समूहमा लक्ष्य मोर ४ अङ्कका साथ पहिलो हुन सफल भए । 

त्यस्तै, अग्रिम तामाङ, असिम महर्जन, ग्रिस्मन अधिकारी तथा तयाहाङ राई क्रमशः दोस्रो, तेस्रो, चौथो तथा पाँचौँ हुन सफल भए ।

प्रतियोगिताका विजेता खेलाडीलाई नेपाल खेलकुद महासङ्घका स्कुल विभाग प्रमुख प्रभात विक्रम कटवाल, साउथ वेस्टर्न स्टेट कलेजका प्रिन्सिपल डा. राजेन्द्र केसी, नेपाल बुद्धिचाल सङ्घका सदस्य अन्तर्राष्ट्रिय आर्विटर उमेश केसी, ईन्टरनेशनल मोटिभेसनल स्पीकर भुवन राज चतौट, नेकोसका केन्द्रीय सदस्य नवराज खरेल, प्रमुख आर्विटर उत्तम ढुङ्गेल, कार्यक्रम संयोजक मिसन बास्कोटा, साउथ वेस्टर्न स्टेट कलेजका प्रोग्राम कोर्डिनेटर राजेन्द्र प्रसाद लामिछाने, स्पोर्टस डिपार्टमेन्ट प्रमुख सुदर्शन जमकटेल लगायतले मेडल, सर्टिफिकेट तथा ट्रफी प्रदान गर्नुभयो ।  

समापन समारोहलाई सम्बोधन गर्दै नेकोसका नेता कटवालले नेपाली खेल क्षेत्रको उठानका लागि नेपाल खेलकुद महासङ्घ सदैव तत्पर रहेको बताउँदै खेल क्षेत्रको विकासका लागि स्थानीय निकाय तथा शैक्षिक केन्द्रसँगको सहकार्यको जरुरी रहेको जानकारी गराउनुभयो । 

त्यसैगरी, साउथ वेस्टर्न स्टेट कलेजका प्रिन्सिपल डा. राजेन्द्र केसीले खेलकुदलाई शिक्षासँग जोडेर लानका लागि अग्रसरता लिने कुरा बताउनुभयो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ७ : ४८ बजे