व्यायामको उचित समय महिला र पुरुषका लागि फरक

न्युयोर्क । व्यायाम कुन समयमा गर्ने भनेर धेरैलाई कौतुहलता लाग्न सक्छ । प्रायः सबैले बिहानको समयमा व्यायाम गर्छन् । तर, एउटा अध्ययनलाई विश्वास गर्ने हो भने उचित नतिजाका लागि महिला र पुरुषको व्यायाम समय फरक हुनुपर्छ । 

अध्ययनअनुसार पुरुषका लागि बिहानभन्दा साँझको व्यायाम उपर्युक्त हुन्छ । यसअघिका अध्ययन विशेष गरी पुरुषमा केन्द्रित थिए । 
अध्ययनअनुसार बिहानको व्यायाममा महिलाले बढी बोसो पगाल्न सक्छन्, जबकि पुरुषका लागि साँझ उत्तम हुन्छ । भिन्न हर्मोन र जैविक चक्र, सुत्ने र उठ्ने वृत्तमा भिन्नताका कारण यस्तो हुने  अनुसन्धानकर्ताहरू बताउँछन् ।

न्युयोर्क राज्यको स्किडमोर कलेजका २५ देखि ५५ वर्ष उमेर समूहका ३० पुरुष र २६ महिलामा अध्ययन गरिएको थियो । सहभागीलाई दुई समूहमा विभाजन गरेर फिटनेस कार्यक्रममा १२ सातासम्म उनीहरूको शारीरिक प्रतिक्रियाको अनुगमन गरिएको थियो ।

दुई समूहमध्ये एउटाले बिहान साढे आठ बजेअघि र अर्को समूहले बेलुका ६ देखि ८ बजेसम्म आधा घण्टा व्यायाम गरेका थिए । दुवै समूहलाई विशेष तरिकाले डिजाइन गरिएको खानेकुरा दिइएको  थियो । 

अनुसन्धानकर्ता १२ सातासम्म हरेकको रक्तचाप र बोसो जाँच गरेका थिए । साथै उनीहरूको शक्ति, लचकता र एरोबिक जाँच गरेका थिए । बिहान वा बेलुका जुनसुकै समयमा व्यायाम गरे पनि सहभागीको समग्र स्वस्थ्य राम्रो देखिएको थियो । 

स्किडमोर कलेजका स्वास्थ्य र मानव शारीरिक विज्ञानका प्राध्यापक तथा अध्ययनका प्रमुख लेखक प्राध्यापक डा. पल अर्सेरियोले भन्नुभयो , ‘व्यायामको लागि उत्तम समय भनेको तपाईँले यसलाई गर्न र आफ्नो तालिकामा फिट गर्न सक्ने उत्तम समय हो । ’

अनुसन्धान समूहले बिहानको तुलनामा पुरुषहरूका लागि साँझको व्यायाम बढी प्रभावकारी भएको फेला पारेको थियो । त्यस्तै, महिलाहरूमा पेटको बोसो बढी हुने सम्भावना भएकाले बिहानको व्यायाममा उनीहरूले बढी बोसो पगाल्न सक्ने अध्ययनमा उल्लेख छ ।  
 

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  १२ : १९ बजे