एमालेको सचिवालय बैठक सुरु

रुपन्देही बस दुर्घटना अपडेट: मृतक ९ मध्ये ५ जनाको पहिचान खुल्यो

रुपन्देही । रुपन्देहीमा  आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये ५ जनाको पहिचान खुलेको छ । 

दुर्घटनामा मृत्यु हुनेहरूमा रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, बुटवल–११, कालिकानगरका कृष्णप्रसाद बस्याल र रौतहट जिल्लाका २० वर्षीया दिनेश दास,रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे र ४० वर्षको भारतीय नागरिक अरबिन्द्र शर्मा रहेको अस्पताल प्रशासनले जनाएको छ । 

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुवाहक बस आज बिहान साढे ४ बजे भैरहवा–परासी सडक खण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सिमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए ।

दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले बताउनुभयो । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर र ८ जनाको अवस्था भने मध्यम रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ९ : १७ बजे