२५ वर्षपछि अर्घाखाँची जिससमा एमालेको विरासत कायम

अर्घाखाँची । जिल्ला समन्वय समिति अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । 

पाँच दलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन् ।

मतदातामध्ये दुई तिहाइ एमालेको भएपछि गठबन्धनबाट उम्मेदवारी दर्ता समेत भएन ।  यससँगै अब जिल्ला समन्वय समितिको प्रमुख एमाले नेता जीवनारायण कोइराला हुनुभएको छ । 

पाणिनी–५ मैदान निवासी कोइराला एमाले प्रदेश कमिटी सदस्य समेत हुनुहुन्छ। उपप्रमुखमा नेत्री लक्ष्मी शर्मा ज्ञवाली हुनुभएको छ । 

यसैगरी, समन्वय समितिको खुल्ला सदस्यमा नेताहरू पाणिनी–७ का कमल घिमिरे, भूमिकास्थान–८ का झुपलाल खनाल र सन्धिखर्क–७ का लक्ष्मण कँडेल निर्वाचित हुनुभएको छ।

महिला सदस्यमा टुल्कादेवी आचार्य (मालारानी–४), डालकुमारी भण्डारी (शितगंगा–१०) र सीता आचार्य (मालारानी–१) निर्वाचित हुनुभएको छ । दलित र अल्पसङ्ख्यक सदस्यमा मीना बिसी परियार चयन हुनुभएको छ । 

जिल्लाका छ वटा पालिकामध्ये तीन वटा पालिकामा प्रमुख तथा उपप्रमुख एवं दुई वटा पालिकामा उपप्रमुख जितेसँगै एमालेको जित निश्चित भएको हो । 

समन्वय समिति गठनका लागि आवश्यक १२ मतमध्ये एमालेको ८, नेपाली काँग्रेसको २, राष्ट्रिय जनमोर्चाको १ र नेकपा (माओवादी केन्द्र) को १ मत रहेको छ । 

अल्पमतमा पर्ने भएपछि गठबन्धनले कुनै पदमा उम्मेदवारी नदिएको हो । एमालेले भने २०५४ सालको विरासत फिर्ता लिएको छ ।  तर, निर्वाचन कार्यालय अर्घाखाँचीले भने निर्विरोध निर्वाचित भएकाहरूको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ८ : ५० बजे