वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् ।
३२ वडा रहेको यस महानगरको कार्यपालिका सदस्यको निर्वाचनबाट ती दुई पार्टीका चार–चार सदस्य निर्वाचित हुनुभएको हो ।
दलित वा अल्पसङ्ख्यक सदस्यमा गठबन्धनबाट काँग्रेसका कन्हैया प्रसाद, जसपाका खैरुद्धिन मियाँ धोबी र निरञ्जन प्रसाद सोनार निर्वाचित हुनुभयो ।
यसैगरी, पाँच महिला सदस्यमा पनि सत्ता गठबन्धनमध्येबाट काँग्रेसका कनिका कौशिक, नितुकुमारी राम र राधादेवी कार्की तथा जसपाबाट कलावतीदेवी राजपुतिन र रबुलसन खातुन निर्वाचित हुनुभएको हो ।
कार्यपालिका सदस्यका लागि भएका निर्वाचनमा १६२ मतदातामध्ये १५९ जनाले मात्रै मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नारायणी अस्पताल आइतबारसमेत सञ्चालनमा
नारायणी अस्पतालले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ ।
सरकारले देशभरका सरकारी सङ्घसंस्था र कार्यालय सातामा दुई दिन शनिवार र आइतबार बन्द गर्ने निर्णय गरे पनि नारायणी अस्पताल भने दैनिक बिरामीको उपचार सेवाका लागि आइतबार बन्द नहुने भएको हो ।
सो अस्पतालमा आइतबारका दिन पनि ओपिडी, शल्यक्रिया, ल्याबलगायतका सबै नियमित उपचार सेवा सञ्चालनमा रहने अस्पताल प्रशासनले जनाएको छ ।
यद्यपि आइतबारका दिन उपचार सेवाबाहेक अन्य प्रशासनिक काम भने बन्द रहने छन् । अस्पताल विकास समितिका अनुसार सेवाग्राही र अस्पतालमा उपचार गराउन आउने बिरामीलाई मध्यनजर गर्दै आइतबारका दिन पनि सबै सेवा नियमित रूपमा सञ्चालनमा आउने अस्पताल प्रशासनले जनाएको छ ।
सार्वजनिक बिदा दिन खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अस्पताल व्यवस्थापन पक्षले एक दिन बराबरको अतिरिक्त पारिश्रमिक उपलब्ध गराउने अस्पताल प्रशासनले जनाएको छ ।
इन्धनको खपत घटाउन भन्दै सङ्घीय सरकारले गत जेठ महिनादेखि प्रत्येक हप्ताको शनिवार र आइतबार दुई दिन गरी सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
अस्पतालका अनुसार नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही र भारत विहारका कयौँ स्थानबाट गरी दैनिक ५०० बढी बिरामी उपचारका लागि आउने गरेका छन् । रासस
प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार ८ : ४१ बजे
प्रतिक्रिया