‘एउटै नाउरको सिकार गर्न २३ लाख’

डा.देवी नेपालको ‘लेखन शिल्प’ अभिनव स्रष्टाको सम्पत्ति  

डा. देवी नेपालको परिचय
आज यहाँ डा. देवी नेपालको कृति ‘लेखन शिल्प’का बारेमा र स्वयं डा. देवी नेपालका बारेमा सानो चर्चा गर्न गइरहेका छौँ । कृतिको चर्चा गर्दा कृतिकारका बारेमा केही उल्लेख गरिएन भने अलि अपूरो हुन्छ । नेपालीय साहित्यका उम्दा नक्षत्र डा.देवी नेपाल हल्दीबारी—१ गोल्धाप झापामा माता मनमया नेपाल र पिता कुबेरनाथ नेपालको न्यानो कोखबाट २०३० साल वैशाख १८ मा जन्मनुभएको हो । हाल उहाँ मध्यपुर ठिमी नगरपालिका—१ लोहकिल्थली (लोकन्थली) भक्तपुर बस्नुहुन्छ । 

डा. देवी नेपालले प्रगतिवादी नेपाली खण्डकाव्यमा द्वन्द्व विधानमा विद्यावारिधि गरेका छन् । संस्कृत साहित्यमा आचार्य (प्रथम श्रेणी), नेपाली साहित्यमा एम.ए.(प्रथम श्रेणी) गर्नुभएको छ । उहाँ नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुनुहुन्छ । हाल उहाँ वाल्मीकि क्याम्पसमा प्राध्यापन गरिरहनुभएको छ । 

डा.देवी नेपाल विभिन्न संस्थाहरूमा आबद्ध हुनुहुन्छ । उहाँ प्रज्ञा परिषदका सदस्य तथा साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख हुनुहुन्छ । त्यसरी नै उहाँ नेपाली विषय समिति, पाठ्यक्रम विकास केन्द्र सानोठिमीका सदस्य हुनुहुन्छ । 

डा. देवी नेपालको कृतित्व:
डा देवी नेपालको पहिलो प्रकाशित कविता कृति २०४६ सालको ‘किसान’ शीर्षकको कविता हो । उहाँ यही कविताको माध्यमबाट साहित्य क्षेत्रमा उदाउनु भएको हो । २०५१ सालमा उहाँले धरानबाट प्रकाशित हुने ‘प्रभा’ पत्रिकामा प्रकाशन भएको ‘खै कहाँ छ शान्ति ?’ पहिलो निबन्ध हो । उहाँ २०४६ सालदेखि साहित्यका अनेकन विधामा छामछुम गर्र्दै २०५६ सम्म अभ्यास कालको रूपमा बिताउनु भयो । यो भाषिक परिस्कार र निखारताको समय हो । 

डा.देवी नेपालमा प्रतिभ क्षमता अभूतपूर्व थियो । उहाँ पहिलादेखि नै खरायो दौडमै लेख्ने गर्नुहुन्थ्यो ।   उहाँको निखारतापूर्वक पहिलो कृति ‘श्रद्धान्जली’ खण्डकाव्य (२०५७) निस्कियो । यो पहिलो महत्वपूर्ण कृति हो । उहाँ यसै कृतिबाट साहित्य शृङ्खलामा स्थापित हुँदै नेपालीय साहित्यमा सगर्व विन्यस्त हुनुभयो । त्यसपछि भने उनको अत्युर्बर प्रतिभा ज्वारप्रवाह अन्तरकम्पनका साथ लाभाग्निझै प्रस्फुटन हुन थाल्यो । 

डा. देवी नेपालका २०६३ सालमा समालोचनासहित ३ वटा कृति प्रकाशित छन् । त्यसपछि उहाँले २०७७ सालसम्ममा त्रिशतक मुक्त संग्रह (२०६३), तितामिठा कुरा नीति सङग्रह सहलेखन (२०६३) प्रकाशित भएका छन् । त्यसपछि क्रमशः माटो र मुटु कविता सङग्रह (२०६७), सलादजस्तो देश कविता सङग्रह (२०७१),भानु भन्दै हिँडिरहूँ यात्रा काव्य (२०७२), आरोहण संयुक्त महाकाव्य (२०७२) पागल खण्ड काव्य (२०७७) समुन्द्र मन्थन खण्ड काव्य (२०७७) प्रकाशित गरेको पाइन्छ । 

डा. देवी नेपालले समालोचना विधामा पनि उत्तिकै प्रखरतापूर्वक कलम चलाउनुभएको छ । उहाँ सिद्धहस्त समालोचक हुन्  । उहाँको पहिलो छन्द पराग समालोचना कृति (२०६२) सालमा प्रकाशित भएको हो । साहित्य सन्ध्या र पुरस्कृत प्रतिभाहरू जीवनी समालोचना (२०६४), गजल कसरी लेख्ने ? गजल (सिद्धान्त (२०६६), काव्य समालोचना समालोचना संग्रह (२०६८), समय रेखा समालोचना संग्रह २०६८, ‘लेखन शिल्प’ समालोचना २०७७ हुन् । 

डा देवी नेपाल बाल कविता काव्यमा पनि उक्तिकै महत्वपूर्ण स्रष्टाका रुपमा चिनिनुन्छ । बाल मनोविज्ञानका आधारमा उनीहरूका रूची र चाहना अनुसार बनाइएका कतिपय बाल कविताहरू युटुबमा पनि सुनिन्छन् । यी कविताहरु बालबालिकाहरुलाई मनोरन्जन दिनका लागि निकै महत्वपूर्ण भएका छन् । उहाँका बाल कविताहरू निम्नासार छन् । कुखुराको बिहे बालकाव्य (२०६५), मैनाचरी दङ्ग परी (२०७२), नाना देऊ पुतली बाल कविता संग्रह (२०७४), अ आ पढ्नेबेला बाल कविता संग्रह(२०७४), को छ हँ बाल कविता संग्रह (२०७४), गन्दै गन्दै जान्छु बाल कविता संग्रह (२०७४), कखगघ पढ न–बाल कविता संग्रह (२०४६) मामा घरको रोपाईं बालकाव्य (२०७८), हाम्रो प्यारो नेपाली भाषा अष्ट्रेलियाका लागि बाल पाठ्य सामग्री (२०७८) आदि हुन् । 

विविध विषयमा समान रूपमा गुणस्तरीय रचना रच्न सक्ने व्यक्तित्व भएका कारण उहाँलाई बहुमुखी प्रतिभा भनिन्छ । उहाँका ४ वटा बाल निबन्धहरु प्रकाशित भएका छन् । पहिलो बाल रचना माला (२०६१), निबन्ध मुना (२०६१) निबन्ध कोपिला (२०७१), निबन्ध पुष्प (२०७३) हुन् । छन्द कविताका दुईवटा एल्बम सिडीहरू निस्किएका छन् । छन्दको सुगन्ध सामुहिक एल्बम (२०५९) छन्दको तरङ्ग (एकल सिडी (२०७३) हुन् । 

डा.देवी नेपालका एक दर्जनजति नेपाली पाठ्य पुस्तक तथा सन्दर्भ पुस्तकहरू प्रकाशित छन् । उनले विभिन्न साहित्यिक संस्थाहरुबाट २० भन्दा ज्यादा पुरस्कार तथा सम्मान पाउनुभएको छ । तत्काल केही प्रकाशोन्मुख साहित्यिक कृति छन् । विविध विधामा गुणवत्ताका दृष्टिले र संख्याका दृष्टिले हेर्दा हामीले उहाँलाई महान स्रष्टा मान्न सक्दछौँ । उहाँ नेपालीय साहित्यका गर्विला व्यक्तित्व हुनुहुन्छ । उहाँका विषयमा विभिन्न विद्वानहरुको भनाइ ः  

‘लेखन शिल्प’का विषयमा शुभकामना दिँदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले यो कृतिको महत्वलाई प्रकाश पार्दै लेख्नुभएको छ— “विशेष गरी नेपाली छन्द कविताको पुनर्जागरण काल र नयाँ पुस्तासम्मको सिर्जनात्मक हस्तान्तरण सम्बन्धमा उहाँले सञ्चालन गरेका अभियानहरू निकै सफल देखिन्छन् । छन्दोबद्ध कविता सिर्जना, सैद्धान्तिक र व्यवहारिक समालोचना, बाल भावना अनुकूल बाल साहित्य लेखन, शिक्षण प्रशिक्षण आदिका माध्यमबाट नेपाली साहित्य क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुका साथै नयाँ पुस्तालाई सिर्जना कर्मतिर आकर्षित गर्नका लागि अभियान नै सञ्चालन गरेर उहाँले खेल्नु भएको उत्प्रेरणामूलक भूमिका निकै प्रशंसनीय छ । प्रस्तुत कृति ‘लेखन शिल्प’ त्यही अभियानको निरन्तरता हो भन्ने मैले ठानेको छु ।” 

त्यसरी नै प्रा.डा. कृष्णहरि बरालले भन्नुभएको छ—“विश्व साहित्यमा सिर्जनात्मक लेखन सम्बन्धी पुस्तकहरु प्रकाशित भइरहँदा हाम्रा जिज्ञासु स्रष्टाहरुले नेपालीमा लेखिएका यस्ता पुस्तकको खोजी गर्नु पनि नौलो कुरा हैन, तर एउटै ठाउँमा साहित्यका सबै विधाको सैद्धान्तिक परिचय दिने र सिर्जना सम्बन्धी सीपको पनि विकास गराउने सम्पूर्ण सामग्री एकै ठाउँमा भएका पुस्तक भने नेपालीमा त्यति प्रकाशित भएका थिएनन् । यस्तो अवस्थामा विधागत सिद्धान्तको राम्रो जानकारी राख्ने उत्कृष्ट सिर्जना शक्ति भएका डा. देवी नेपालको प्रस्तुत ‘लेखन शिल्प’ पुस्तक प्रकाशन हुनु खुसीको कुरा हो ।”

कृतिको मूलभाव :
सिर्जना महत्वपूर्ण कुरा हो । त्यो बिल्कुल मौलिक हुन्छ । सिर्जनाका लागि सिकाइ सामग्री साधन हो, साध्यचाहिँ हैन । दस जना कविले शार्दूल विक्रीडित छन्दमा एउटै शीर्षकमा कविता लेखे भने विषय एउटै भयो छन्द विधान पनि एउटै हो तर बिम्ब, प्रतीक र अलङकारका माध्यमबाट अनुभूतिको पोखाइ फरक—फरक हुन्छ । सिर्जनाको लागि संरचनात्मक सीप त सिकाइएला र कवित्वचाहिँ प्रत्येक स्रष्टामा फरक फरक हुन्छ भनेर लेखन शिल्पको सार र रुपको विषयमा स्पष्ट बताएका छन् । वास्तवमा त्यही नै सिर्जना हो । उत्प्रेरणा, लेखन शिल्प र सिर्जना फरक फरक भएको कुरा बताउँछन् । उत्पे्ररणा भावनात्मक हुन्छ, जसले लेख्न उद्देलित गर्छ । लेखन शिल्प सैद्धान्तिक हुन्छ, जसले विधि र प्रक्रियाको जानकारी दिन्छ । सिर्जना मौलिक हुन्छ । त्यसले उही उही विषयमा पनि फरक फरक भाव व्यक्त गर्छ । त्यसैले, कृति रचनाका लागि यस्ता पुस्तकहरु धेरै उपयोगी हुन्छन् । डा. देवी नेपालको यो कृति मौलिक सिर्जनाको लागि सबै स्रष्टाहरूको अनिवार्य साधन बनेको छ । 

साहित्य सिर्जनामा लेखन शिल्प महत्वपूर्ण कुरा हो । लेखन शिल्पको अभावमा कतिपय स्रष्टाहरूका कृतिहरू विधागत संरचनामा ढल्न नसकेर उद्देश्यमा पुग्न सकेका छैनन् । कैयौ उत्कृष्ट रचनाहरू मौलिक हुँदाहुँदै पनि विधागत संरचनामा ढल्न नसकेर खेर गएका छन् । त्यसैले नयाँ पुस्तालाई यो कृतिको माध्यमबाट साहित्यको संवद्र्धन गर्नका लागि हामीले यस्ता कृतिहरूको पहुँच स्रष्टा समक्ष पुर्याउनुपर्छ । 

यस्ता कृतिहरू नेपली साहित्यकारका लागि मात्र हैन, नेपालमा बोलिने सबै भाषाका स्रष्टाहरूका लागि आवश्यक छ । नेपाली साहित्य भन्दा झट्ट दिमागमा देवनागरी लिपिमा लेखिएको खस भाषालाई मात्र भनिन्छ । अब हामीहरुले त्यो संकीर्ण मानसिकताबाट माथि उठेर समष्टि साहित्यको विकासको लागि चौडा छाती लिएर अगाडि बढ्नु पर्छ । नेपालमा बोलिने विभिन्न भाषा र साहित्यहरूको साझा र समष्टि सम्बोधन सूचक शब्द नेपालीय हुनु पर्छ । यसरी सम्बोधन गर्दा सबै अटाउँछन्, देखिन्छन् र राष्ट्रिय भावधारामा उनिन्छन् । नेपालीय कला, नेपालीय साहित्य, नेपालीय संस्कृति आदि नामले समष्टिमा सम्बोधन गर्ने संघीय सोच पलाउनु पर्छ । त्यसैले यो पुस्तक नेपाली सम्पर्क भाषामा लेखिएको विधागत सैद्धान्तिक जानकारीमूलक भएकोे भएतापनि सबै भाषिक समुदायका साहित्यकारहरूका लागि आवश्यक छ । 

प्रस्तुत कृतिमा स्रष्टाहरूलाई विधागत परिचय दिनुका साथै सिर्जनाका विधि र प्रक्रियाहरू बताइएको छ । यसमा विधाका संरचनात्मक अवयवहरुको परिचय दिइएको छ । संरचना भनेको फर्मा हो । हरेक विधाका फरक फरक रूप र सार हुन्छन् । कुनै पनि विधा कुनै विधासँग मिल्दैनन् । नत नाटक घटाएर एकाङ्की बन्छ नत कथा बढाएर उपन्यास बन्छ । त्यसैले,फरक फक शैली र शिल्पका आधारमा छुट्टिने विधागत फरकपनलाई यस लेखन शिल्पले स्पष्ट पारेको छ । त्यसैले पनि विधागत परिचय र सिर्जनाको अभ्यासको लागि बाटो देखाइएको हुनाले यो कृति महत्वपूर्ण छ । विधा के हो भन्ने कुराको सामान्य परिचय दिएर कसरी लेख्ने भन्ने सिकाउनु यस ‘लेखन शिल्प’को उद्देश्य हो ।

यस कृतिमा पहिला कविताका विभिन्न रुपहरुको विषयमा जानकारी दिइएको छ । कविताको लघुतम रुप, लघु रूप, मध्यम रूप, वृहद रूप, वृहत्तर रूपको संरचनात्मक ढाँचाको विषयमा बताइएको छ । यसमा हाइकू लेखन, मुक्तक लेखन, गजल लेखन, बाल कविता लेखन, शास्त्रीय छन्दमा कविता लेखन, मुक्त छन्दमा कविता लेखन, खण्डकाव्य लेखन, लामो कविता लेखन, महाकाव्य लेखन, बृहत्तर महाकाव्य लेखनको आकार संरचनागत शिल्पको विषयमा सूक्ष्म रुपमा प्रस्तुत गरिएको छ । के लेख्ने भन्दा पनि कसरी लेख्ने भन्ने कुरा यस कृतिले हामीलाई राम्ररी सिकाएको छ । यसर्थ पनि यो कृति सफल छ ।
 
आकार र संरचनात्मक दृष्टिले कविताका लघुतम रुपहरुमा हाइकू, ताङ्का, सेदोका, छोक, एलाक, मुक्तक, रmवाई, सायरी, दोहा, सोरठा, चौपाई, आल्हा, केस्रा, खिचडी, युग्मक, बाछिटा, सुसेली, साइनो, झर, छेस्का, शीत, चोइटा, टुक्का लगायतका लघुतम रुपहरु प्रस्तुत गरिएको छ । तिनीहरुका रुपविधान र संरचनाहरु दिइएको छ । त्यसरी नै अलि फराकिलो र चौडा बन्दै जाने क्रममा कविताका लघुरुप के कस्ता हुन्छन् भन्ने देखाइएको छ । यसमा फुटकर कविता, गीत गजल, फाँचल भनिएको छ । कवितामा जीवनको एक खण्डको प्रतिनिधित्व गर्ने विशिष्ट संरचनाबद्ध काव्य नै कविताको मझौला रुप हो भनिएको छ । यस विधामा खण्डकाव्य पर्छ । यसको लेखन शिल्पमा लेखकले आख्यान वा आख्यान विहीन पनि हुन्छ भनेका छन् । खण्ड काव्य पनि सर्गबद्ध हुन्छ, पात्रहरु हुन्छन् । संवाद हुन्छ । परिवेश हुन्छ । यही संरचनामा ढाल्दा खण्डकाव्य हुन्छ भन्ने सिकाएका छन् । 

लेखकले लामो कविताको विषयमा लेखेका छन् । विभिन्न अनुच्छेद विधानमा भावनाको आख्यानीकरण गरिन्छ । लामो न लामो कविता कविताको मध्यम रुप हो । कविताको बृहद रुप महाकाव्य हो । यो सर्गबद्ध हुन्छ । जीवनको एउटा पक्षको विस्तार खण्ड काव्य हो भने सिङ्गो जीवनको विषयमा लेखिएको हुन्छ । यसमा आख्यानको विस्तार हुन्छ । परिवेश, पात्र, द्वन्द्व विधान हुन्छ । खण्ड काव्य र महाकाव्य फरक फरक हुन्छ । कलात्मक वा ललित महाकाव्यभन्दा ठूलो हुन्छ । यसले सिङगो जीवनको व्यख्या हैन, मानव सभ्यता र संस्कृतिको मात्र प्रतिनिधित्व नगरेर सिङ्गगो युगलाई नै बोक्छ । विकसनशील आर्ष महाकाव्यलाई कविताको बृहत्तर रुप मानिन्छ । रामायण र महाभारतलाई आर्ष महाकाव्य वा वृहत्तर रुप मान्न सकिन्छ । लेखकले यसको रुप विधान तथा संरचनाको व्याख्या गरेर यस्ता महाकाव्यको शिल्प, शैली र संरचना बताएका छन् । कथा वस्तु पात्र, परिवेश उद्देश्य, रस भाव, विचार, ध्वनि व्यन्जना आदिको विषयमा राम्ररी बताएका छन् । 

त्यसरी नै आख्यान विधा लेखनका शैली, शिल्प र संरचनाको विषयमा उल्लेख गरेका छन् । आख्यानका लघुतम संरचनामा पर्ने, सूत्र कथा, केस्रा कथा, लघुकथाको शिल्पका विषयमा प्रकाश पारेका छन् । आख्यानको लघु संरचनामा पर्ने कथा, आत्मकथाको जानकारी दिएका छन् । आख्यानको बृहद संरचना उपन्यास, आत्मोपन्यास, नाट्योपन्यास, निबन्धोपन्यासको शैली संरचना र शिल्पको पहिचान दिएका छन् । यसले आख्यान लेखनमा स्रष्टाहरुलाई सहज बनाई दिएको छ । त्यसरी नै उपन्यास लेखनका संरचना र शिल्पको परिचय छ । निबन्ध, नियात्रा र जीवनी लेखनको विषयमा बताएका छन् । त्यसरी नै लेखकले नाटक लेखनका विधि र संरचनाहरु बताएका छन् । नाटक लेखनमा एकाङ्की लेखन, नाटक लेखन, गीतिनाटक लेखन चलचित्र लेखनको विषयमा बताएका छन् । 

डा. देवी नेपालले पुस्तक समीक्षा, पुस्तक समालोचनामा संरचनात्मक फरकपन, भूमिका लेखन अनुसन्धनात्मक लेख लेखन शोधप्रस्ताव लेखन, थेशिस लेखनको तरिका बताएका छन् । रिपोर्ताज, पत्र साहित्य, निवार्ता लेखन, दैनिकी, डायरी, सम्पादकीय लेखनका विषयमा गहिरो जनाकारी प्राप्त भएको छ । त्यसैले पनि यो पुस्तक साहित्य सिर्जनाको लागि महत्वपूर्ण मानिन्छ । पत्रकारिताको लागि पनि उत्तिकै महत्वपूर्ण छ । 

नेपालीय साहित्यको विकास र विस्तारमा यस्ता महत्वपूर्ण कृतिहरुको ठूलो योगदान हुन्छ । ‘छन्द पराग’ (२०५४) कृतिका माध्यमबाट नयाँ पुस्तामा सिर्जनाको लहर आउन थालेको विषय उत्प्रेरक बनेर यो कृति जन्मेको कुरा लेखकले बताएका छन् । स्वतःस्फूर्त प्रतिभा र लेखन शिल्पको संयोजन भएमा साहित्यले गति पाउँछ भन्ने कुरा बुझेकै हो । तर अभाव पूर्ति भएको थिएन । यस लेखन शील्प कृतिले हाम्रो अभाव पूर्ति गरेको छ । नयाँ पुस्ताहरु धन्य भएका छन् । हामी त्यो समयमा साहित्यको तिर्खा लाग्दा प्यास मेट्न खोज्दा शिल्प संरचनाको ज्ञानको अभावमा त्यसै मुर्झाएर बसेका थियौं । अब त जुनसुकै विधामा सिर्जना गर्न मन लागेमा कमसेकम सैद्धान्तिक ज्ञान मात्र हैन, विधि र प्रक्रियामा पनि जानकारी पाउँदा हाम्रो पुस्ता ठगिए पनि नव सिर्जनाको लहर ल्याउनको लागि अभिनव स्रष्टाहरुलाई सहज भएको महशुस भएको छ । यसको लागि हाम्रो साहित्य शारथि डा. देवी नेपालप्रति हार्दिक कृतज्ञता प्रकट गर्छौं । 

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ९ : २३ बजे