रुस र युक्रेन युद्धको १०० दिन पूरा, एक करोड २० लाख यूक्रेनी विस्थापित

कीभ, यूक्रेन। रुसले युक्रेनमाथि आक्रमण गरेको शुक्रवार १०० दिन पूरा भएको छ । यो अवधिमा एक करोड २० लाख युक्रेन नागरिक आन्तरिक तथा बाह््यरूपमा विस्थापित बनेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क रहेको छ ।

यो अवधिमा दुवै देशका हजारौँ सैनिक मारिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा युक्रेन आक्रमणका लागि आफ्नो फौजलाई आदेश दिएदेखि हजारौँ मानिसहरू मारिएका छन् । लाखौँ मानिसहरू आफ्नो गाउँ, शहर वा बासस्थान छोडेर भाग्न बाध्य भएका छन् । 

यूक्रेनी शहरहरू भग्नावशेषमा परिणत भएका छन् ।एक करोड २० लाख यूक्रेनी विस्थापित हुँदा करिब ६८ लाख मानिसले युक्रेन छाडेको संयुक्त राष्ट्रसंघले जनाएको छ । जसमध्ये करिब ३६ लाख मानिस पोल्याण्ड पुगेका छन् भने ८० लाख मानिस आन्तरिक रूपमै विस्थापित भएका छन् । 

ठूलो मानवीय सङ्कटमा फसेको युक्रेनमा हरेक सेकेन्डमा एक बच्चा युद्ध शरणार्थी बनिरहेको बताइएको छ । रुसलाई घेराबन्दी गर्न पश्चिमा देशहरूले पनि लगातार नाकाबन्दी कडा गर्दै लगेको बताएका छन् । रुसले प्रत्यक्ष फाइदा नपाएसम्म तत्काल युद्ध रोक्ने लक्षण देखाएको छैन भने युक्रेन पनि आफ्ना सहयोगी पश्चिमी मुलुकहरूको बलमा रुससमक्ष लडिरहेको छ । आत्मसमर्पण गर्ने कुनै सङ्केत देखाएको छैन ।
  
गत फेब्रुअरी २४ मा युक्रेनमाथि तीन तिरबाट आक्रमण थालेको रुसले युद्धमा विजय नपाए पनि युक्रेनको जनजीवन भने अस्तव्यस्त बनेको छ । 

सुरुमा पूर्वी युक्रेनसँगै राजधानी कीभलाई लक्षित गरी आक्रमण गरिएको थियो । केही दिनमै युक्रेन कब्जा गर्ने रूसको योजना सफल हुन नसकेपछि अहिले पूर्वी युक्रेनमा आक्रमण केन्द्रित छ ।

ठूलो संख्यामा सैन्य सामग्री र हातहतियार नष्ट भएको छ । शान्त र सुन्दर युक्रेन खण्डहरमा परिणत भएको छ । यस युद्धमा क्रमशः पूर्वी यूरोप र बाँकी विश्व पनि तानिएको छ । संसारभरकै जनजीवनमा असर पुग्न थालेको छ । यूक्रेनले ३० देखि ५० प्रतिशत कुल गार्हस्थ्य उत्पादन गुमाउँदा बजेट घाटामात्रै ५ अर्ब अमेरिकी डलर पुगेको बताइएको छ ।

रुसी आक्रमणका कारण युक्रेनमा ६ खर्ब अमेरिकी डलर बराबरको संरचना ध्वस्त भएको छ ।सिन्ह्वा

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ७ : ०५ बजे