काठमाडौं । अखिल नेपाल किसान महासङ्घले आन्दोलनको घोषणा गरेको छ ।
शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गर्दै किसानले मल नपाएको, कृषि क्षेत्रमा कालोबजारी र सरकार मौन बसेको भन्दै अखिल नेपाल किसान महासङ्घले आन्दोलन को घोषणा गरेको हो ।
अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा. प्रेम दंगालले मुलुकको अर्थतन्त्र सङ्कटको अवस्थामा पुगेको, अर्थतन्त्रका सबैजसो सूचकहरू नकारात्मक देखिनु, दैनिक उपभोग्य वस्तुको मूल्य बढ्नु, पेट्रोलियम पदार्थ र निर्माण सामग्रीमा चरम मूल्यवृद्धि भएको कारण आफूहरू आन्दोलनमा जान बाध्य भएको बताउनुभयो ।
अध्यक्ष दंगालले पहिलो चरणमा प्रधानमन्त्री, कृषिमन्त्री, प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीले प्राप्त गर्ने गरी ज्ञापन पत्र बुझाउने र मलको चरम अभाव र मूल्यवृद्धिको विषय तथा यसको प्रभाव बारेमा आम जनतालाई सुसूचित गर्ने बताउनुभएको छ । दोस्रो चरणमा सङ्घले सबै प्रदेशका मुख्यमन्त्री कार्यालयमा धर्ना गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा घेराउ गर्ने, विरोध र्याली र आमसभाहरूको आयोजना गर्ने बताउनुभयो ।
किसान महासङ्घले मल आपूर्ति गर्ने नेपाल सरकारका निकायहरू साल्ट ट्रेडिङ कर्पोरेसन, कृषि सामाग्री कम्पनीका डिपोहरूमा तालाबन्दी गर्ने र स्थानीय समस्याहरु समेत उठाउँदै रचनात्मक ढंगले आन्दोलन गर्ने अध्यक्ष दंगालले बताउनुभयो ।
प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार ४ : ३२ बजे
प्रतिक्रिया