आज वर्षाको सम्भावना

विप्लव नेतृत्वको नेकपाले असोजमा महाधिवेशन गर्ने 

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नवौँ महाधिवेशनको मिती तय गरेको छ ।  

आज पत्रकार सम्मेलन गर्दैै उक्त पार्टीले असोज १ गतेदेखि ८गतेसम्म काठमाडौंमा  महाधिवेशन गर्न लागेको जानकारी दियो । महाधिवेशन अघि  भदौ ५ गतेसम्म वडा र पालिका सम्मेलन तथा भदौ १५ गतेसम्म जिल्ला सम्मेलन गर्ने सो पार्टीले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै उक्त पार्टीका  अध्यक्ष नेत्रविक्रम चन्दले नेपालमा साम्राज्यवादी हस्तक्षेप तीव्र वेगमा बढिरहेको बताए  । उनले दलाल पुँजीवादी व्यवस्थाका कारण नेपाल नवउपनिवेशमा फस्ने क्रममा रहेको दाबी गरे । केही समयअघि अमेरिकी मन्त्री उज्रा जियाले तिब्बती शरणार्थी शिविरको भ्रमण गरेको प्रति विप्लवले कडा विरोध जनाए । उनले सार्वभौम राज्यको मान्यतालाई ठाडै हस्तक्षप गर्ने क्रियाकलाप आफूहरुलाई मान्य नहुने बताए । 

उनले अमेरिकी मन्त्रीले राज्यको कुनै वास्ता नगरी आफ्नो गुलामको रुपमा शरणार्थी शिवरको भ्रमण गरेको र यसले हाम्रो सार्वभौम राज्यको मान्यतालाई ठाडै हस्तक्षेप गरेको बताए । 

‘हाम्रो देशमा छिमेकी देशहरुको विरुद्धमा उचाल्ने जुन खेल चलिरहेको छ। यसले नेपाली जनतालाई गम्भीर र चिन्तित बनाएको छ,’ उनले भने। उनले असमान सन्धी सम्झौताको विरोध गर्ने बताए।

‘नेपालमा साम्राज्यवादी हस्तक्षेप तीव्र वेगमा बढिरहेको छ, पछिल्लो समय गम्भीर खालका घटनाहरू घटिरहेका छन् । यो सबै दलाल पुँजीवादको आत्मसमर्पणवादी चरित्रले गर्दा भएको हो । त्यसै कारण नेपाल एउटा नवउपनिवेशमा जाँदै गरेको देखिन्छ,’ उनले भने, ‘अस्ति भर्खरै एमसीसी भयो, अहिले एमसीसीको कार्यालयमा अमेरिकी कर्मचारी ओइरिँदै गरेको खबर छ । अमेरिकी सहायक विदेशमन्त्री आएर खुलेआम तिब्बती शरणार्थी शिविरमा भ्रमण गर्ने र छिमेकी देशहरूको विरुद्धमा उचाल्ने खेल चलेको छ ।’
पार्टीको केन्द्रीय समितिको १३ औँ बैठकका निर्णयहरू सार्वजनिक गर्दै महासचिव चन्दले राष्ट्रिय स्वाधीनताको आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘कुनै पनि विदेशी भूमण्डलीकृत साम्राज्यवादी तत्वद्वारा हाम्रो देशमा लादिने असमान सन्धि, सम्झौता र उनीहरुका हस्तक्षेपकारी क्रियाकलापलाई ठाडै अस्वीकार गरेर प्रतिरोधमा उत्रिनुपर्छ, हाम्रो केन्द्रीय समितिमा यसबारे छलफल भएको छ,’ उनले भने ।

उनले राष्ट्रिय स्वाधीनताको पक्षमा देशैभरि जागरण ल्याउनुपर्ने पनि बताएका छन् । स्थानीय तहको निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयले पार्टीमा भएको मतभेदले पार्टी विभाजनसम्म पुगेको स्मरण गर्दै महासचिव चन्दले आफूहरूले चुनावलाई क्रान्तिको एउटा अंगको रुपमा उपयोग गरेको बताए । उनले कम्युनिस्ट आन्दोलनमा रहेका, तर पार्टीबाट अलग भएकाहरुलाई समेत पार्टीमा एकढिक्का हुन आव्हान गरेका थिए ।

महासचिव चन्दले आगामी असोज १ गते आफ्नो पार्टीको ९ औँ महाधिवेशन गरिने र सबै भ्रमहरूलाई सफाचट पार्ने बताए । यस्तै सच्चिएर आएमा माओवादी केन्द्रसहितका शक्तिहरुसँग समेत पार्टी एकता हुन सक्ने उनले बताए । ‘प्रचण्डजीले पनि एकताको कुरा गर्नुहुन्छ । मैले त उहाँहरूलाई भनेको छु, तपाइँहरू पुरानै ठाउँमा फर्किनुस्, हामी छलफल र बहस गर्न तयार छौं । तर, तपाइँहरू सुध्रिनुहुन्न भने तपाइँहरूको अन्त्यलाई कसैले बचाउनेवाला छैन,’ उनले भने, ‘उहाँहरुको लहैलहैमा लागेका धेरै साथीहरू हुनुहुन्छ, म उहाँहरूलाई सही बाटोमा आउन आव्हान गर्दछु ।’

महासचिव चन्दले अहिलेकै अवस्थाको निरन्तरता भए कुनै पनि दिन नेपालको अर्थतन्त्र टाट पल्टिएको घोषणा हुनसक्ने दाबी गरे । ‘नेपालमा आज दलाल पुँजीवादी सत्ता छ । यो त पुँजीवादभन्दा पनि निर्लज्ज अवस्था हो । यसले जनतालाई शोषणमात्रै गर्छ, कुनै लाभ दिँदैन,’ चन्दले भने, ‘यहाँ जुनसुकै दिन पनि नेपालको अर्थतन्त्र टाट पल्टिएको घोषणा हुनसक्ने अवस्था छ । त्यसैले यस्तो दलाल पुँजीवादको अन्त्यका लागि वैज्ञानिक समाजवादको स्थापना हुनुपर्छ । वैज्ञानिक समाजवादमा मात्रै जनताले चाहेको जस्तो जीवन बाँच्न पाउँछन् भनेर हामीले बुझाउन सक्नुपर्छ ।’

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ३ : ४२ बजे