आज वर्षाको सम्भावना

एमाले समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटदैछ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताउनुभएको छ ।

सत्ता गठबन्धन भत्काउन एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ‘प्रधानमन्त्रीको कार्ड’ फ्याँकेको विवरण सार्वजनिक भइरहँदा पोखरेलले ‘यतिबेला  एमाले सरकार परिवर्तनको खेलमा छैन’ भनेर बताउनुभएको हो ।

उहाँले एमाले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटिरहेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘यतिबेला नेकपा एमाले सरकार परिवर्तनको खेलमा छैन ।  विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटदैछ ।’

उहाँले त्रिभुवन विश्वविद्यालयमा नेविसंघले तालाबन्दी गरेको विषयमा पनि उल्लेख गर्नुभएको छ । ‘असान्दर्भिक माग राखेर सत्तापक्षका विद्यार्थी संगठनले विश्वविद्यालयमा तालाबन्दी गरेको लामो समय भयो । सरकार थाह नपाएझै चिरनिद्रामा छ । झकझक्याउ,’ उहाँले लेख्नुभएको छ ।

नेविसंघले ७ माघदेखि लगाएको ताला बुधबार नेकपा (क्रान्तिकारी) ले फुटाएको थियो । तर, नेविसंघले बिहीबार फेरि तालाबन्दी गरेको हो ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ८ : ५९ बजे