आज वर्षाको सम्भावना

यो बजेट ‘गफै त हो नी सम्धी’ भनेजस्तै छ : पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेकी सांसद पद्माकुमारी अर्यालले वर्तमान सरकारले ल्याएको बजेट  योजनाभन्दा बढी गफ भएको बताउनुभएको छ ।  

बिहीबार संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद अर्यालले बजेटमा कार्यक्रमहरु धेरै ल्याइएको तर आवश्यक बजेट विनियोजन नभएको बताउनुभयो । ‘ बजेटबिनाका यतिधेरै कार्यक्रमहरु छन्, त्यो व्याख्या गरिसाध्य छैन। त्यसैले यो बजेट ‘गफै त हो नी सम्धी’ भनेजस्तै छ।’अर्यालको भनाई थियो ।  

पूर्वमन्त्री समेत रहनुभएकी अर्यालले अहिलेको बजेटले  कृषि  क्षेत्रमा भएका  अध्ययन, छलफल र तथ्यांकलाईसमेत बेवास्ता गरेको बताउनुभयो । कृषि मन्त्रालयले आगामी वर्षका लागि योजना र रणनीति बनाइसकेको अवस्थामा मन्त्रालयको योजना र रणनीतिलाई बजेटले लत्याएर हचुवाको भरमा बजेट ल्याइएको उहाँले बताउनुभयो । 

अर्यालले बजेट पुरै पूर्वाग्रही भएकोसमेत बताउनुभयो । यसअघिको सरकारले सिद्धार्थ  र कोहलपुर राजमार्ग विस्तार र स्तरोन्नती गर्न ७ अर्ब विनियोजन गरेर  डिपिआर बनिसकेको र ठेक्का गर्न सक्ने अवस्थामा पुगिसक्दा पनि अहिलेको बजेटले प्राथमिकता नदिको उहाँले बताउनुभयो । ‘पोखरा र लुम्बिनी जोड्ने सिद्धार्थ राजमार्ग र कर्णाली जोड्ने कोहलपुर राजमार्ग यो सरकारको प्राथमिकतामा नपर्नुको कारण के हो ?’ उहाँले प्रश्न गर्नुभयो । 
 

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ४ : ५८ बजे