आज वर्षाको सम्भावना

पाेखरा १८ मा ‘हराएकाे’ ९ मत खाेज्दै अदालतमा मुद्दा

पोखरा । पोखरा महानगरपालिका १८ को वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेद्वार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गर्नुभएको छ । 

उहाँले चुनावमा खसेको मतभन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा हाल्नुभएको हो । उहाँले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नव निर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दिनुभएको हो ।  

यो वडामा कांग्रेसका शिव तिमिल्सिनाले ३ मत अन्तरले चुनाव जित्नुभएको थियो । ५ हजार ८ सय ४३ मतदाता मध्ये यहाँ ४ हजार ३ सय ४८ मत खसेको थियो । गणनाका क्रममा ४ हजार ३ सय ३९ मत मात्र भेटिएको थियो । मतपत्र सर्टिङ गर्ने क्रममा नै ९ मत गायव पारिएको थापाको आरोप छ । 

थापाले गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुनः गणनाको माग सहित निवेदन दिनुभएको थियो । तर पुनः गणना हुन सकेन ।

हारजित स्वभाविक हो । लोकतन्त्रमा निर्णय मान्नुपर्छ, उहाँले भन्नुभयो, तर खसेको मत त देखाउनुपर्यो नि । खसेको ९ मतको जवाफ चाहियो । उहाँले सत्य तथ्य छानबिन गरेर पुनः मतगणनाको माग राख्नुभएको छ । 

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ४ : ४० बजे