आज वर्षाको सम्भावना

स्वास्थ्य बीमाको काम कम्पनीलाई दिनु हुँदैन : गिरिराजमणि पोखरेल

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सम्बन्धी कार्य कम्पनीलाई दिने कुरालाई समर्थन गर्न नसकिने बताउनु भएको छ ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका पोखरेलले अर्थमन्त्री जनार्दन शर्माले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सम्बन्धी कार्यलाई बुझ्न नसकेको समेत बताउनु भएको हो ।

आज प्रतिनिधि सभाको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा बोल्दै पोखरेलले स्वास्थ्य बीमा सरकारले सामाजिक उत्तरदायित्वसँग गाँसेर ल्याएको र निजी क्षेत्रले ल्याएको बीमा जस्तो नभएकाले कम्पनीलाई दिनु नहुने बताउनु भयो ।

बजेटमा स्वास्थ्य बीमा कम्पनीलाई दिने उल्लेख गरिएको भन्दै पोखरेलले त्यसलाई पुनरावलोकन गर्न सुझाव दिनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले समर्थन गर्न नसक्ने कुरा, स्वास्थ्य बीमा कम्पनीलाई दिने कुरा छ । वर्तमान प्रधानमन्त्रीको नेतृत्वको बेलामा ८० दिन जति म क्याबिनेटको सदस्य भएँ । त्यतिबेला पास गरेको ऐन हो यो । प्रचण्डको नेतृत्वमा गगनजीहरुले लामो गृहकार्य गर्नुभएको थियो । त्यसलाई हामीले सदनबाट पास गर्यौं । अहिले यसलाई कम्पनीलाई दिने भन्ने कुरा कुनै कोणबाट हेर्दा पनि मैले बुझ्न सकेको छैन । म पुनरावलोकन गर्न आग्रह गर्दछु ।’

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  १ : ४४ बजे