सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

बैतडी जिसस निर्वाचन जेठ २४ मा

बैतडी । यही जेठ २४ गते जिल्ला समन्वय समिति बैतडीको निर्वाचन हुने भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्र सो समितिको चुनाव गरिसक्ने प्रावधानअनुसार  चुनावको मिति तय भएको हो ।  

मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीका अनुसार नौ सदस्यीय जिल्ला समन्वय समिति बन्नेछ । यसमा एक प्रमुख, एक उपप्रमुख, तीन महिला सदस्य, एक दलित वा अल्पसङ्ख्यक सदस्य र तीन खुला सदस्य हुनेछन् । चुनावका लागि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले उम्मेदवार हुन पाउने प्रावधान रहिआएको छ । मतदाताका रूपमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहनेछन् । निर्वाचनका लागि जेठ २१ गते मनोनयन दर्ता हुनेछ ।

यस्तै जिल्लामा सो समितिका पदाधिकारीहरूको निर्वाचनका लागि कुनै एक दलको बहुमत नभएकाले गठबन्धन गर्नुपर्ने बाध्यता छ । स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले गठबन्धन गरेकाले समन्वय समितिको चुनावमा पनि दुवै दलले गठबन्धन गर्ने बताइएको छ । दुवै दलले गठबन्धन गरेमा उनीहरूको बहुमत पुग्ने देखिएको छ ।

जिल्लामा १० स्थानीय तह छन् ।  जिल्लामा सो समिति गठनका लागि मतभारको सङ्ख्या २० छ । यहाँ कांग्रेसको मतभार नौ छ । उसले डिलासैनी गाउँपालिका उपाध्यक्ष, दशरथ चन्द नगरपालिका उपप्रमुख, पाटन नगरपालिका प्रमुख, पुर्चौडी नगरपालिका प्रमुख–उपप्रमुख, मेलौली नगरपालिका उपप्रमुख, शिवनाथ गाउँपालिका अध्यक्ष, सिगास गाउँपालिका अध्यक्ष र सूर्नया गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।

एमालेको मतभार आठ छ । एमालेले दशरथचन्द नगरपालिका प्रमुख, दोगडाकेदार गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, पञ्चेश्वर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, शिवनाथ गाउँपालिका उपाध्यक्ष, सिगास गाउँपालिका उपाध्यक्ष र सूर्नया गाउँपालिका अध्यक्ष जितेको छ ।

माओवादी केन्द्रको मतभार दुई छ । उसले पाटन नगरपालिका उपप्रमुख र मेलौली नगरपालिका प्रमुख जितेको छ । त्यहाँको डिलासैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

यसैबीच समितिको निर्वाचनका लागि खगेन्द्रसिंह धामीलाई प्रमुख पदको उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ । कांग्रेस बैतडीका उपसभापतिसमेत रहनुभएका उहाँलाई समितिको प्रमुखका लागि उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस बैतडीका कोषाध्यक्ष चक्रबहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँका नाम सर्वसम्मतरूरुपमा पार्टीको प्रदेश कार्यसमितिमा पठाएको छ । समितिमा माओवादी केन्द्रसँग गठबन्धन गरेर अघि बढ्ने सहमतिअनुसार उपप्रमुख पद भने माओवादीको भागमा परेको कांग्रेसले जनाएको छ । कांग्रेसबाट प्रमुख पदका लागि उम्मेदवार बनाइएका धामी सिगास–४ को वडा सदस्यमा निर्वाचित हुनुहुन्छ ।  अन्य सदस्यका उम्मेदवार कसलाई बनाउने र माओवादीको भागमा कति सदस्य पर्ने भन्ने विषय अझै टुङ्गो लाग्न बाँकी छ । यसअघि पनि कांग्रेस र माओवादी मिलेर समन्वय समिति बनाइएको थियो ।  
 

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  १ : ३८ बजे