वर्तमान सरकारले आर्थिक अस्थिरता ल्यायो : उपमहासचिव ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव एवम् प्रतिनिधिसभा सदस्य प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले आर्थिक अस्थिरता ल्याएको बताउनुभएको छ । 

प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को सन्दर्भ जारी छलफलमा सहभागी हुँदै उपमहासचिव ज्ञवालीले वर्तमान सरकारले राजनैतिक अस्थिरता ल्याएको थियो नै योसँगै आर्थिक अस्थिरता समेत ल्याएको बताउनुभएको हो । 

उहाँले आर्थिक पूर्वानुमान गर्न नसकिने, विश्वमा जुन आर्थिक सङ्कट पैदा भइरहेको उक्त आर्थिक सङ्कटलाई एवजर्भ गर्न नसकिने खालको भएको र थप सङ्कटको पूर्नउत्थान गर्ने हिसाबले बजेट आउन नसकेको बताउनुभयो ।

उहाँले यो बजेटले उत्पादकत्वमा वृद्धि नगर्ने र व्यापार घाटा कम नगर्ने बताउनुभयो । उहाँले उत्पादकत्वमा वृद्धि नभएपछि सरकारी कोषमा वृद्धि गर्न सकिँदैन सरकारी कोषमा वृद्धि गर्न नसक्दा लगानी गर्न नसकिने बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले सरकारले विकासका आयोजनाहरूलाई धेरै गिजोल्ने काम गरेको बताउनुभयो ।

 सरकार आफै सरकारमा भएका बेला आएको एमसीसी परियोजनालाई पहिला गिजोल्ने काम भयो र पछि पास गरियो भन्नुहुँदै उहाँले फेरी अहिले बुढी गण्डकी परियोजनालाई लाई कहिले कसलाई दिने कहिले आफै गर्ने भन्दै गिजोल्ने कार्य भएको र जस गर्दा विकास निर्माणका कार्य बाधा उत्पन्न भएको बताउनुभयो । 

उहाँले बजेट देशभित्र विकास बाधक र कतिपय अवस्थामा संवेदनशीलसमेत देखिएको बताउनुभयो । सांसद ज्ञवालीले बजेट कार्यान्वयन हुने खालको नभएको उल्लेख गर्दै भन्नुभयो, “बजेट ठूलो आकारको छ, यो चुनावी वर्ष हो, चुनाव गर्ने छलफलमा तपाईँहरू आफैँ आयात घटाउँछु भन्नुहुन्छ, राजस्व बढाउँछु भन्नुहुन्छ, तर हाम्रो सबैभन्दा ठूलो राजस्व नै आयातबाट छ ।”  

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ११ : ५६ बजे